रुस युक्रेन संकटः रसियाली अर्बपतिमाथि प्रतिबन्ध, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?



एजेन्सी । रुस र युक्रेनबीचको लडाईंका कारण हरेक क्षेत्र प्रभावित भएको छ । संसारभरको अर्थतन्त्रमा संघर्षको प्रभाव देखिएको छ नै, त्योसँगै रुसमा समेत अनेकन प्रभाव देखिएको छ । आर्थिक तथा मारिक नाकाबन्दीका कारण रुसको अवस्था पनि जटिल बन्दै गएको विवरणहरु सार्वजनिक भएका छन् ।

प्रतिबन्धपछि अमेरिका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको विशवभर रहेका सम्पत्तिको खोजीमा लागेको छ । त्यतिमात्रै नभई अमेरिका र पश्चिमा मुलुकले रसियाका व्यापारी तथा केही प्रभावशाली व्यक्तिलाई समेत प्रतिबन्ध लगाएको छ । पुटिनका विश्वासपात्रहरुमाथि लगाइएको प्रतिबन्धले भयावह अवस्था सिर्जना भएको छ ।

बेलायत, यूरोपेली संघ र अमेरिकाले युक्रेनमा रूसी आक्रमणको प्रतिक्रियामा भ्लादिमिर पुटिनको नजिकका रुसी अर्बपति व्यापारीहरूमाथि कडा प्रतिबन्ध लगाएर उनीहरूलाई विनाशको छेउमा पुर्याउन सकिन्छ भन्ने सोच राखेका छन् । ती मध्ये ६ अर्बपति शीर्ष स्थानमा छन् ।

पुटिनका मनपर्ने व्यवसायी मध्ये एक अलीशेर उस्मानोभ विश्वका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक हुन् । उनको कूल सम्पत्ति १७.६ अर्ब डलर बराबर छ । उस्मानोभलाई अमेरिका, युरोपेली संघ र बेलायतले प्रतिबन्ध लगाएका छन् ।
विश्व प्रसिद्ध फुटबल क्लब चेल्सीको सफलतापछि रोमन अब्रामोभिचको भूमिका उत्तिकै महत्वपूर्ण छ । उच्च प्रोफाइलमा रहेका अर्बपतिको सूचीमा सामेल रहेका रोमनलाई पनि प्रतिबन्ध लगाएका छन् ।

देखिने गरी उनीमाथि अहिलेसम्म कुनै पनि देशले उनीहरुमाथि प्रतिबन्ध लगाएको छैन । अब्रामोभिच पुटिनका अन्य व्यापारिक सहयोगीहरू भन्दा बढी प्रभावशाली भएकाले पनि सायद देखिने गरी प्रतिबन्ध नलगाइएको हुनसक्छ ।
कूल १२.४ अर्ब डलर बराबर सम्पत्ति भएका अब्रामोविचले बुधबार आफ्नो चेल्सी फुटबल क्लब र लण्डनमा रहेको आफ्नो १५ मिलियन पाउण्डको घर ३ बिलियन डलरमा बेच्न चाहेको बताएका छन् । उनीमाथि पनि प्रतिबन्ध लाग्न सक्ने अवस्था आएकाले आलिशान महल बिक्री गर्न चाहेको बताएका हुन् ।

यस्तै, रसियाली राष्ट्रपति पुटिन सत्तामा आउँदा ओलेग डेरिपास्का धेरै धनी थिए । र, उनको कुल सम्पत्ति करिब २८ मिलियन डलर थियो । तर, अहिले उनीसँग ३ अर्ब डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।

अमेरिकाले ओलेगमाथि पनि प्रतिबन्ध लगाएको छ । अमेरिकाले ओलेग मनी लन्ड्रिङ, घुसखोरी, जबरजस्ती असुलीजस्ता गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोप बताएको छ । तर, ओलेगले यी आरोप अस्वीकार गरेका छन् ।
युरोपेली संघले २८ फेब्रुअरीमा इगोर सेचिनमाथि प्रतिबन्धको घोषणा गरेको हो । सेचिनलाई राष्ट्रपति पुटिनको निकटतम र भरपर्दो साथीका रुपमा मानिने पश्चिमा सञ्चार माध्यमको भनाइ छ । पुटिनका सहयोगी तथा व्यवसायीलाई धम्क्याएर वा प्रतिबन्ध लगाएर दबाव बढाएर संकट समाधान गर्न सकिन्छ भन्ने धारणा राखेका छन् ।

तर, उनको कुल सम्पत्तिका बारे जानकारी उपलब्ध छैन । अमेरिकाले सन् २०१४ मा सेचिनमाथि प्रतिबन्ध पनि लगाएको थियो । अमेरिकाले अब सेचिनमाथि २४ फेब्रुअरीमा नयाँ प्रतिबन्ध लगाएको छ ।

त्यस्तै रुसमा प्रभावशाली व्यापारीका एलेक्सी मिलरपनि पर्छन् । एलेक्सीलाई पुटिनको साथी पनि मानिन्छ । सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि मिलरलाई प्रतिबन्ध लगाइएको थिएन । तर, सन् २०१८ मा अमेरिकाले उनलाई प्रतिबन्ध लगाएपछि उनले यसलाई गर्वको विषय भनेका थिए । एलेक्सीको कुल सम्पत्तिको बारेमा कुनै जानकारी दिइएको छैन । तर, उनी रसियाली अर्थतन्त्रमा प्रभाव राख्ने र प्रभावशाली व्यक्तिका रुपमा चिनिन्छन् । पिटर आभेन, मिखाइल फ्रिइडम्यानलाई यूरोपेली संघले प्रतिबन्ध लगाएको छ । यी दुईले मिलेर रुसको सबैभन्दा ठूलो निजी बैंक अल्फा बैंक स्थापना गरेका हुन् ।

मिखाइल फ्रिडम्यानको सम्पत्ति करिब १२ अर्ब डलर रहेको अनुमान गरिएको छ । उनी लन्डनको लर्ड्स क्रिकेट मैदान नजिकैको ठूलो बंगलामा बस्छन । उनले यसलाई सन् २०१६ मा ६५ मिलियन पाउण्डमा किनेका थिए । एकै समयमा, पिटरको लगभग ४.८ अर्ब डलर बराबरको सम्पत्ति छ ।

यस्तै रुसमा विभिन्न कम्पनीले समेत प्रतिबन्ध लगाएका छन् । सामसुङले युक्रेनमा रुसको आक्रमणपछि भूराजनीतिक घटनाक्रम पछि सामानको ढुवानी रोकेको छ । सामसुङ सबैभन्दा ठूलो मेमोरी चिप निर्माता र दक्षिण कोरियाको अग्रणी स्मार्टफोन कम्पनी हो । यसअघि एप्पलले पनि रुससँगको सम्बन्ध तोडेको थियो ।

सामसुङले अर्को चरणको अवस्थाको निर्धारणका लागि जटिल अवस्थालाई सक्रिय रूपमा निगरानी गरिरहेको जनाएको छ । त्यस्तै विभिन्न खेलकुद संगठन र पश्चिमा सरकारका ठूला कम्पनीहरूले रुससँगको आफ्नो सम्बन्ध तोडेका छन् ।

यसअघि पनि विभिन्न क्षेत्रका कम्पनीहरुले रुसमा आफ्नो कारोबार बन्द गरिसकेको जनाएका छन् ।

एप्पलले रुसी बजारमा आफ्ना सबै उत्पादन बेच्न बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले युक्रेनका आम जनतालाई मद्दत गर्न आफ्नो नक्सामा पनि परिवर्तन गरिरहेको छ ।

अल्फाबेटको कम्पनी गुगलले रुसी प्रसारक आरटी र स्पुतनिकसँग जोडिएका मोबाइल एपहरू ब्लक गरिरहेको जनाएको छ । कम्पनीले यसअघि नै रुसी सरकारी मिडिया कम्पनीहरूलाई समाचार सेवाबाट हटाइसकेको छ ।
माइक्रोसफ्टले रुसी राज्य मिडिया कम्पनी आरटीको एप विन्डोज एप स्टोरबाट हटाएको छ । सरकारी मिडिया कम्पनीको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ ।

फिनल्याण्डको कम्पनी नोकियाले प्रतिबन्ध लागू गर्दै रुसमा आपूर्ति बन्द गर्ने घोषणा गरेको छ ।

फ्रान्सेली कार कम्पनी रेनोले रसियाको कार एसेम्बली प्लान्टमा केही गतिविधि बन्द गर्ने भएको छ । यसको पछाडि मुख्यतया लजिस्टिक समस्या रहेको बताइएको छ । रेनो प्रतिबन्धको मारमा पर्ने पश्चिमी कम्पनीहरूमध्ये एक हो । कम्पनीको कमाईको ८ प्रतिबन्ध रुसबाट आउँछ र रेनोले रुसको सबैभन्दा ठूलो कार कम्पनीलाई पनि नियन्त्रण गर्छ ।

फोर्ड मोटर्सले रुसी कम्पनी सोलार्ससँगको संयुक्त लगानी तोड्ने निर्णय गरेको छ । कम्पनीले अर्को सूचना नआएसम्मका लागि रुसमा सबै सञ्चालन बन्द गर्ने घोषणा गरेको छ । फोर्ड पहिलो अन्तर्राष्ट्रिय कार कम्पनी हो जसले रूसमा आफ्नो एसेम्बली लाइन शुरु गरेको थियो ।

जर्मन अटो कम्पनी बीएमडब्ल्यूले पनि आफ्ना कारहरू रसिया पठाउन अस्वीकार गरेको छ । कम्पनीले रुसमा रहेको आफ्नो प्लान्टबाट पनि उत्पादन बन्द गरिरहेको छ ।

अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले रुसमा आफ्नो व्यापार बन्द गरेको छ । कम्पनीले रुसमा आफ्नो बाइकको छुट्टै स्लट पनि पठाएको छैन ।

बेलायतको लक्जरी कार कम्पनी जगुआर ल्यान्ड रोभरले रुसलाई तत्काल कार पठाउन रोक लगाएको छ । यो कम्पनीको स्वामित्व भारतको टाटा मोटर्ससँग पनि छ ।

बेलायतको अर्को लक्जरी कार कम्पनी एस्टन मार्टिनले पनि रुसलाई कार आपूर्ति बन्द गरेको छ । रसिया र युक्रेनले कम्पनीको कुल सञ्चालनको १ प्रतिशत भन्दा कम मात्र योगदान गर्दछ ।

ट्रक निर्माता डेमलरले रसियामा आफ्नो व्यवसाय तत्काल प्रभावबाट बन्द गर्ने घोषणा गरेको छ । यसमा रूसी ट्रक निर्माता कम्पनी सँगको सहकार्य पनि समावेश छ । डेमलरको मूल कम्पनी मर्सिडिजले कामाजमा रहेको आफ्नो १५ प्रतिशत सेयर जतिसक्दो चाँडो बेच्न चाहेको बताएको छ ।

स्विडेनी कार कम्पनी भोल्भोले अर्को सूचना नभएसम्म आफ्ना कारहरू रुसी बजारमा ढुवानी गर्न रोकेको बताएको छ । २०२१ मा, भोल्भो कम्पनीले रुसी बजारमा कुल ९,००० कार बेचेको छ ।

जनरल मोटर्सले पनि अर्को सूचना नभएसम्म रुसलाई सवारी साधनको आपूर्ति बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाको डेट्रोइटको यो कम्पनीको रुसमा कुनै प्लान्ट छैन । प्रत्येक वर्ष यो कम्पनीले रूसमा लगभग ४ हजार कार बिक्री गर्दछ ।

जापानको मित्सुबिसी मोटर्सले पनि रूसमा कार उत्पादन र बिक्री गर्न बन्द गर्न सक्छ । आर्थिक प्रतिबन्धले कम्पनीको आपूर्ति श्रृंखलामा बाधा पुर्याउन सक्ने कम्पनीको डर छ ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले रुसी एयरलाइन्सलाई नयाँ विमानको डेलिभरी, भाडामा लिने तथा पार्टपुर्जा, मर्मतसम्भार र प्राविधिक सहयोग बन्द गरेको जनाएको छ । कम्पनीले तत्कालका लागि कीभमा रहेको आफ्नो कार्यालय पनि बन्द गरेको छ ।

विश्वको सबैभन्दा ठूलो भाडामा लिने कम्पनी, एयरक्याप होल्डिङले रूसी एयरलाइन्सका लागि सबै भाडा गतिविधिहरू बन्द गर्ने घोषणा गरेको छ । रुसी एयरलाइन्सका आधाभन्दा बढी विमान भाडामा लिएका छन् । २०२१ मा, एयरक्याप होल्डिङका ५ प्रतिशत विमान रुसमा भाडामा दिएका थिए ।


क्लिकमान्डु