टेका लगाएका घर हटाएर उज्यालो, मोटर पुग्ने एकीकृत सहरी सेवा पुर्याउने : मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्फत सूचीकृतका लागि प्राप्त ६० वटा निवेदनमध्ये ४० जनालाई सूचीकृत गरेर सहयोग लिने भएको हो ।

महानगर क्षेत्रभित्र भएका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्व भएका निजी तथा संस्थागत स्वामित्व भएका परम्परागत भवनहरुको संरक्षणका लागि महानगरले कार्यविधि बनाएको छ । घरधनीहरुलाई यसका विषयमा प्राविधिक ज्ञान नहुन सक्ने भएकोले भवन डिजाइन तथा निर्माणमा कम्तीमा १० बर्ष अनुभव भएका आर्किटेक्ट र सिभिल इञ्जिनियरहरुलाई सहजकर्ताका रुपमा खटाइने भएको हो ।

अभिमुखीकरण कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको सहरी व्यवस्थापनमा बस्ती कसरी बसाउने भन्ने विषयमा निकै छलफल भएको र एकीकृत बस्तीको विषय उठेको बताए ।

‘बसन्तपुरबाट दक्षिण भेगका ६३० वटा घरको अध्ययन गरेर प्रारम्भिक रुपमा ५४ घर एकीकरण गर्ने, सहरी सेवा सुविधा पुर्याउने योजना बनायौँ’ उनले भने ‘टेका लगाएका घर हटाएर सबै घरमा उज्यालो पुग्ने, मोटर पुग्ने, एकीकृत सहरी सेवा पुर्याउने योजना बनायौँ । २०७२ सालको भूकम्पपछि यसको अझ चर्चा भयो । तर कार्यान्वयन जाने बेला सम्पत्तिको हक सुरक्षाको सवाल आयो । त्यसलाई जवाफ दिने कानून भएन । काम अगाडि बढाउन सकिएन ।’

राज्यले गर भनेर मात्र नहुने भन्दै काम गर्नका लागि सहयोग गर्नुपर्छ भनेर मौलिक भवन बनाउन मापदण्डका आधारमा अनुदान दिने कार्यविधि बनाएको शाक्यको भनाइ छ । ‘सकिँदैन हुँदैन भनेर होइन गर्न सकिन्छ भनेर अगाडि बढौँ । नीतिलाई व्यवहारिक बनाउन तपाईँको केही सुझाव छ भने दिनोस्, हामी ग्रहण गर्छौँ । हामी हाम्रा नीति कार्यान्वयनमा तपाईँको सहभागी भएको हेर्न चाहन्छौँ’ उनले भने ‘काठमाडौँको मौलिकता बचाउन हामी निजी भवनहरुलाई पनि अनुदान दिन्छौँ । महानगरबाट सहयोग लिएर काठमाडौँको मौलिकता यथावत राख्ने काममा सहयोग गर्न म सम्बन्धित सबैमा अनुरोध गर्छु ।’
अहिलेका जनप्रतिनिधिलाई सांस्कृतिक मौलिक सहर बनाउने जिम्मेवारी प्राप्त भएको भन्दै यसलाई अवसरको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सम्पदा क्षेत्रलाई कोलाहलमुक्त, विकृतिमुक्त बनाउन कठिन भएको भन्दै अन्य नगरजस्तो काठमाडौँको व्यवस्थापन सजिलो नभएको बताइन । ‘हामीले काठमाडौँको मौलिक संरचनालाई जोगाएर सांस्कृतिक पर्यटकीय सहर बनाउने प्रयास थालेका छौँ’ उनले भनिन् ‘यसले स्थानीय अर्थतन्त्रको हरेक चक्रमा सहयोग गर्छ । यसमा भित्री सहरी क्षेत्रमा बसोबास गर्ने घरधनीबाट सहयोग चाहिएको छ ।’

सहरका मध्यभागमा भएका टेको लगाएका पुराना घरहरु, थोरै जग्गामा बनेका जीविकोपार्जन हुन नसक्ने घरहरु रहेका छन् । यसबेला सहरको मौलिकता बचाउने, समाजलाई जीवन्त बनाउने र सुन्दरता बचाउने कुरालाई ध्यानमा राखेर योजना बनाउनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु