संख्या कम भएपछि कर्मचारीले समेत भन्सार एजेन्टको काम गर्दै



काठमाडौं । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रिया यो वर्ष हुँदैछ । यसका लागि परीक्षा समेत तोकिइसकेको छ । जस अनुसार यो वर्ष ६६० जना नयाँ भन्सार एजेन्ट थप हुनेछन् ।

यसअघि एजेन्ट लाइसेन्सका लागि २०५४ सालमा पहिलो पटक लाइसेन्स वितरण गरिएको थियो । त्यससँगै २०५७, २०६२ र ६३ सालमा खुलाए पनि परीक्षा भने हुन हुन सकेको थिएन । तत्कालीन समयमा बेला अख्तियारमा मुद्दा परेपछि लाइसेन्स वितरणको प्रक्रिया खारेज गरिएको थियो ।

त्यसपश्चात भने भन्सार एजेन्टको लाइसेन्स वितरण भएको छैन । २० वर्षसम्म नयाँ भन्सार एजेन्ट नथपिँदा व्यापारमा समस्या भएको व्यवसायीहरुको भनाइ छ ।

हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले भन्सार एजेन्ट अभावले गर्दा वस्तुहरूको जाँचपासमा समस्या आएको बताए । उनकाअनुसार एजेन्टले नै व्यवसायीहरूको सम्पूर्ण कार्य गर्ने भएकाले कतिपय अवस्थामा एजेन्ट नहुँदा वस्तु नाकामा अड्किने गरेको छ ।

सरकारले २०५७ सालमा जारी गरेको लाइसेन्स प्राप्त एजेन्टहरुले नै हालसम्म काम गर्दै आएका छन् ।

हाल देशभर १७० जना एजेन्ट छन् । १७० एजेन्टका प्रतिनिधिका हिसाबमा रेर करिब ५ सयको हाराहारीमा एजेन्ट रहेको भन्सार एजेन्ट महासंघको भनाइ छ । तर लामो समयसम्म नयाँ भन्सार एजेन्ट थप नहुँदा पुराना एजेन्टहरु बिस्तापित हुँदै गएका छन् ।

महासंघका अनुसार १७० जनामध्ये कैयन बुढ्यौलीका कारण एजेन्टको कामबाट विस्थापित भइसकेका छन् । जसले गर्दा सक्रियरुपमा मुस्किलले १५० को हाराहारीमा मात्रै भन्सार एजेन्ट रहेको महासंघको भनाइ छ ।

एकातिर पुराना एजेन्ट बिस्तापित हुँदै जाने र अर्कोतिर नयाँ भन्सार एजेन्ट नआउँदा समस्या भएको छ ।

वैदेशिक व्यापारको आकार बढेसँगै प्रविधिको प्रयोग पनि सोही अनुसारले बढेको छ । जसले गर्दा पुरानो भन्सार एजेन्टका लागि ठूलो चूनौती बनेको छ । सोही चूनौतीलाई अंगालेर काम गर्न नसक्दा धेरै भन्सार एजेन्टले भने कामबाट विस्थापित भएको भन्सार विभागको भनाइ छ ।

प्रविधिको उच्च प्रयोग हुँदै गएको अवस्थाले गर्दा नयाँ लाइसेन्स जारी गर्नुपर्ने अवस्था आएको विभागको भनाइ छ । हाल देशभर ३९ प्रमुख भन्सार कार्यालय र १ सय ३३ छोटी भन्सार कार्यालय छन् । उक्त भन्सारका लागि आवश्यक एजेन्ट भने पर्याप्त नरहेको विभागको भनाइ छ ।

२० वर्षअघि वार्षिक डेढ खर्बदेखि २ खर्बसम्म वैदेशिक व्यापार हुन्थ्यो भने अहिले उक्त आकार बढेर १६ खर्बमा पुगिसकेको अवस्था छ । तर, भन्सार एजेन्टमा नयाँ लाइसेन्स जारी गर्न नसक्दा निकै समस्या उत्पन्न भएको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्का बताउँछन् ।

‘२० वर्षअघिको वैदेशिक व्यापार र अहिले वैदेशिक व्यापारमा ठूलो अन्तर छ,’ उनले भने, ‘तर, एजेन्ट भने थप्न नसक्नु ठूलो कमजोरी हो ।’

कर्मचारीले नै भन्सार एजेन्टकाे काम गर्दै
२० वर्षको अन्तरालमा व्यापारको आकार १२ गुणा बढिसकेको अवस्था छ । हालको भन्सार ऐनअनुसार भन्सार एजेन्टले २ वटा प्रतिनिधि राख्नुपर्ने व्यवस्था गरेको छ ।

ऐनअनुसार एजेन्टको २ वटा प्रतिनिधिबाहेक अन्यले एजेन्टको रुपमा काम गर्न पाउने व्यवस्था छैन । तर, एजेन्टको प्रतिनिधिले मात्रै अपुग भएपछि बाध्यताले व्यापार सहजीकरण गर्न एजेन्टका अन्य मासिकरुपमा तलब बुझ्नेले पनि एजेन्टको रुपमा काम गरिरहेको उनले बताए ।

‘विभिन्न भन्सारमा एजेन्टको अभाव हुँदा जाँचपासमा समस्या देखिन्छ,’ विभागका सूचना अधिकारी खड्काले भने ‘उक्त समस्या समाधानका लागि विभागले एजेन्ट र व्यवसायीका अन्य कर्मचारीलाई समेत एजेन्टको रुपमा काममा खटाइरहेको अवस्था छ ।’

उनकाअनुसार एजेन्टहरूलाई दिइएको युजर आइडीले मात्र नपुग्ने भन्दै अन्य कर्मचारीलाई समेत युजर आइडी प्रदान गरिएको छ । हालसम्म विभागले व्यापार सहजीकरणका लागि ३४ सय युजर आइडी प्रदान गरेको छ ।

त्यसैगरी, विभागले यसअवधिमा १ हजारभन्दा बढी नयाँ हार्मोनाइज कोड कायम गरिसकेको छ । तर, उक्त कोडहरूको ज्ञानसमेत नभएका एजेन्टहरू हुँदा व्यापारमा समस्या आइरहेको छ ।

‘हरेक दिन नयाँ वस्तु आयात हुने गर्दछ । यो अवधिमा सामान्य ज्ञानसमेत नभएका एजेन्टले गर्दा चेकजाँच र कार्यको प्रक्रिया ढिला हुने गर्दछ,’ उनले भने ।

त्यसैलै, एजेन्टको अभावले गर्दा कतिपय ठाउँमा भन्सारका कर्मचारीले पनि हेर्नुपर्ने अवस्था हुने गरेको छ ।

सरकारले प्रविधिको युगसँगै आफ्नो काम कार्यलाई प्रविधिसँग जोडेर कार्य गर्न शुरु गरेको छ । प्रविधिको प्रयोगले छिटो, छरितो र सहज ढङ्गबाट सेवाग्राहीले सेवा प्रदान गर्ने तयारी गरिरहेको छ । यस्तै, भन्सार विभागले पनि प्रविधिको प्रयोग एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ । तर, उक्त प्रणालीबारे पुरानो भन्सार एजेन्टलाई खासै ज्ञान नभएको अवस्था छ । जसले गर्दा अहिले पनि भन्सारका काम कार्य पुरानो शैलीबाट चलिरहेको अवस्था छ ।

६६० नयाँ एजेन्ट थप हुँदै
सरकारले व्यापार सहजीकरणका लागि ठूलो योगदान पुर्याउँदै आएको भन्सार एजेन्टको अभाव देखिएपछि ६६० नयाँ एजेन्ट थप्ने भएको छ ।
२० वर्षको अन्तरालको अवस्थामा व्यवसायको आकार ठूलो भएको र प्रविधिमैत्री हुँदै गएको अवस्थामा नयाँ पुस्तालाई लाइसेन्स दिने तयारी गरेको छ । अब आउने पुस्ताले सहजै र छिटो तरिकाले व्यापारमा सहजीकरण गर्न सक्ने विभागको दाबी छ ।

विभागले अहिले कायम गरेको ६६० नयाँ भन्सार एजेन्ट व्यापारको आकार हेरेर वैज्ञानिक हिसाबले संख्या तय गरेको जनाएको छ । उक्त भन्सार एजेन्ट थप भएमा व्यवसायमा प्रविधिमैत्री हुने दाबी गरेको छ ।

विभागले अबका भन्सार एजेन्टका लागि अनिवार्य स्नातक गरेको र कम्प्युटर सम्बन्धी ज्ञान हुनुपर्ने जनाएको छ । उक्त ज्ञान भएको एजेन्टले आयात तथा निर्यातको वस्तु सहजै पहिचान गर्ने र छिटो काम गर्न सक्ने विभागको विश्वास छ । साथै, पुरानो एजेन्टलाई पनि काम गर्न निकै चुनौती हुनेछ ।

हाल नयाँ एजेन्ट बन्नका लागि ९ हजार २३ जना यही फागुन २८ गते परीक्षामा सहभागी हुँदैछन् ।


अरिष्मा मोक्तान