जोखिम घटाएर आगामी वर्ष लाभांश दिने एनआइसी एशियाको रणनीति



काठमाडौं । पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकको लाभांश रोक्यो । धेरैजसो सूचकमा पहिलो स्थानमा रहेको एनआइसी एशियाले व्यवसाय विस्तार गर्दा सो अनुसारको पुँजी पुर्याउन नसकेपछि नियामकले लाभांश बाँड्न रोकेको हो ।

एनआइसी एशियाबाट लाभांशको आश गरेका सेयरधनीले लाभांश नपाए पनि निराश भएको भने देखिएन । दोस्रो बजारमा एनआइसी एशियाको सेयर मूल्य खासै घटेन ।

लगानीकर्ताले लाभांशवापत पाउने रकम स्वत बैंकको रिजर्भमा गएको छ । जुन अर्कोवर्ष दिनसक्छ । तर, मुख्य कुरा एनआइसी एशियाले जुन पुँजीकोष राखेर व्यापार गरेको छ, त्यसले बैंकलाई आगामी वर्ष पनि लाभांश दिन कठिन हुन्छ । एनआइसी एशिया आक्रामक ढंगले व्यवसाय गर्ने बैंक हो ।

राष्ट्र बैंकले तोकेको प्राथमिक पुँजीकोष अनुपात न्यूनतम साढे ८ प्रतिशत हुनुपर्छ । पुँजीकोष अनुपात सोभन्दा कम भएपछि एनआइसी एशिया बैंकले लाभांश बाँड्न नपाएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआइसी एशियाको प्राथमिक पुँजीकोष अनुपात ७.८० प्रतिशत छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको बासेल डिस्क्लोजर अनुसार प्राथमिक पुँजी २० अर्ब ४३ करोड रुपैयाँ छ । जसमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड छ । यसबाहेक बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटेन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफा जोडेर घटाउनुपर्ने सूचक घटाएपछि २० अर्ब ४३ करोड आउँछ ।

बैंकले पुस मसान्तसम्म २ खर्ब ६१ अर्बको जोखिम भार सम्पत्ति लिएको छ । बैंकले लिने जोखिम सम्पत्तिमा ऋण प्रमुख हुन्छ । यसबाहेक बैंक सञ्चालन गर्दा हुने जोखिम, बजारबाट आउने जोखिम, नियामकले लगाएको क्यापिटल चार्जलगायत हुन्छन् । २ खर्ब ६१ जोखिम भार सम्पत्तिमा २ खर्ब ३२ अर्ब ऋणको रहेको छ ।

आक्रामक होइन, व्यवसाय जोगाउने नीति

एनआइसी एशिया बैंकले राष्ट्र बैंकको अनुमति लिएर नै शाखा विस्तार गरेको हो । पुँजी नपुग्ने भएपछि एनआइसी एशियाले २ वर्ष अगाडि हकप्रदको प्रस्ताव राष्ट्र बैंकमा गरेको थियो । राष्ट्र बैंकले हकप्रदको प्रस्ताव नमानेपछि संस्थापक सेयरधनीले मात्र हाल्ने ऋणपत्रदेखि लिएर विभिन्न उपकरणको प्रस्ताव गरेको थियो । जसलाई केन्द्रिय बैंकले स्वीकृति दिएन ।

अघिल्लो वर्ष प्राथमिक पुँजीकोष अनुपात कम हुँदाहुँदै राष्ट्र बैंकले लाभांश स्वीकृति दिए पनि यो वर्ष दिएन । राष्ट्र बैंकले अहिले एनआईसी एशिया बैंकलाई दिएको सन्देश आक्रामक व्यवसायलाई कम गर्न भनेको हो । अर्थात् गति रोक्न स्पीड ब्रेकर लगाइदिएको हो ।

एनआइसी एशियाको शाखा सन्जालले स्वभाविकरुपमा अरुको भन्दा बढी व्यवसाय हुन्छ । जसले गर्दा गत आर्थिक वर्षमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै व्यवसाय बढाएको थियो ।

एनआइसी एशिया बैंकका एक सञ्चालक अघिल्लो वर्षजस्तो व्यवसाय विस्तार नगर्ने र चैतमा आउने नाफापछि बैंकको प्राथमिक पुँजीलाई साढे ८ प्रतिशत पुर्याउने रणनीतिका साथ काम भइरहेको बताउँछन् ।

‘जोखिम भार सम्पत्तिलाई घटाउने हाम्रो रणनीति हो, यसका लागि अघिल्लो वर्षजस्तो ऋण विस्तार हुने छैन,’ बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।

२७ वटा वाणिज्य बैंकमा निक्षेप र कर्जामा मर्ज गरेपछि मात्र एनआइसी एशियालाई जित्ने स्थितिमा अरु बैंक छन् । कर्जामा दोस्रो स्थान रहेको ग्लोबलसँग समेत पुँजीकोष अनुपातले ठूलो मात्रामा व्यापार गर्न सक्ने स्पेश छैन ।

बैंकको असोज मसान्त र पुस मसान्तको बासेल डिस्क्लोजर हेर्दा जोखिम भार सम्पत्ति ३ अर्बले घटेको छ । जोखिम भार सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा हुने ऋणलाई बैंकले असोज मसान्तको तुलनामा पुस मसान्तमा घटाएको छ । २ खर्ब ४० अर्बको ऋणको जोखिम भारलाई पुस मसान्तलाई २ खर्ब ३२ अर्बमा झारेको छ । जसलाई बैंकले चैत मसान्तमा अझै झार्ने छ ।

बैंकले पुस मसान्तसम्म २ अर्ब ४० करोड नाफा गरेको छ । ३ महिना अनुसारको नाफालाई हेर्दा बैंकले असोज मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो । असोजदेखि पुससम्मको ३ महिनालाई हेर्दा १ अर्ब २२ करोड नाफा गरेको थियो । यसरी हेर्दा बैंकले तेस्रो त्रैमासमा १ अर्ब ५० करोड नाफा गर्ने लक्ष्य राखेको छ । नाफा गरेको रकमलाई प्राथमिक पुँजीकोषमा जोड्न मिल्छ । जोखिम नबढाउने र ३ महिनामा कमाउने नाफाबाट पुँजीकोष अनुपातलाई साढे ८ प्रतिशत पुर्याउने नीति एनआइसीले लिएको प्रष्टै देखिन्छ ।

अहिलेसम्म एनआइसीको मात्र प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा कम छ । तर, एनआइसी एशियालाई अब लबिङ गर्नको लागि अरु बैंकसमेत थपिएका छन् । अब आधा दर्जन बैंकको प्राथमिक पुँजकोष अनुपात साढे ८ को नजिक छ । यसले नियामक निकायमा लबिङका लागि एनआइसी एशियामात्रै एक्लो हुने छैन ।


क्लिकमान्डु