लाभांश बाँड्न पुँजीकोष अनुपात कम भएपछि व्यवसाय विस्तार रोक्नुपर्ने अवस्थामा आधा दर्जन बैंक



काठमाडौं । एनआइसी एशिया बैंकलाई आवश्यक पुँजीकोष अनुपात नपुगेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगायो ।

एनआइसी एशिया बैंकको पुँजीकोष अनुपात १२.४३ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले ११ प्रतिशत पुँजीकोष अनुपात राख्नुपर्ने व्यवस्था गरेकोमा सो पुर्याएपनि एनआईसी एशिया प्राथमिक पुँजीबाट पुग्नुपर्ने पुँजीकोष साढे ८ प्रतिशत नपुगेपछि एनआईसी एशिया बैंकले लाभांश बाँड्न पाएन ।

एनआइसी एशियाको बासेल ३ डिस्क्लोजर रिपोर्ट अनुसार यसको प्राथमिक पुँजीकोष ७.८० प्रतिशत छ । एनआइसी एशिया बैंकको २० अर्ब रुपैयाँको प्राथमिक पुँजी छ भने जोखिम लिएको रकम २ खर्ब ६१ अर्ब रुपैयाँ छ ।

यस आधारमा एनआइसी एशिया बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.८० प्रतिशत छ । जबकी, राष्ट्र बैंकले साढे ८ प्रतिशत पुँजीकोष अनुपात प्राथमिक पूँजीबाट पुर्याउनु पर्नेमा नसकेको कारण एनआईसी एशिया बैंकको लाभांश रोकिएको हो ।

‘कुनै पनि बैंक तथा वित्त कम्पनीका सेयरधनीहरुले आफ्नो पुँजी पनि हालेका हुन्छन्, बैंकले आफ्नो वासलातको आकार ठूलो बउनाउँदै जाँदा लगानीकर्ताहरुको स्वामित्व र अपनत्व घट्दै जाँदा सम्बन्धित संस्थामा मात्रै नभई समग्र वित्तीय प्रणालीमै समस्या आउने डर हुन्छ, त्यस्तो अवस्था आउन नदिन राष्ट्र बैंकले केही नियामकीय व्यवस्थाहरु गरेको हुन्छ, जुन बैंकहरुले अक्षरस पालना गर्नुपर्छ, नियामकीय व्यवस्थाको पालना नगर्ने बैंकलाई लाभांश वितरण गर्न रोक लगाइन्छ,’ राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले क्लिकमाण्डूसँग भने ।

साढे ८ प्रतिशत पुँजीकोष अनुपातको नजिक भएका अरु बैंक हुन् माछापुच्छ्रे र सिद्धार्थ ।

अझ सिद्धार्थ बैंकको पुँजीकोष अनुपात ८.५ प्रतिशतभन्दा तल झरेको थियो । एनआइसी एशियाजस्तै सिद्धार्थले लाभांश वितरण गर्न नपाउने अवस्था थियो । तर, पछि सिद्धार्थले भने लाभांश वितरण गर्न पायो । अहिले माछापुच्छ्रे बैंकको पुँजीकोष अनुपात ८.०८ प्रतिशत छ भने सिद्धार्थ बैंकको ८.६३ प्रतिशत छ ।

यसबाहेक प्रभु बैंकको ८.५५ प्रतिशत छ । यसले प्रभु बैंकलाई सीडी रेसियो अरुको भन्दा कम भएपनि व्यवसाय बिस्तारका लागि प्राथमिक पुँजीकोष बाधक बन्ने देखिन्छ ।

अन्य सूचकांकमा एनआईसी एशिया बलियो भएपनि पुँजीकोष अनुपातमा कम भएपछि उसले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैंकलाई प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकले हकप्रदको प्रस्ताव भने मानेन । पुँजीकोष अनुपात कम भएका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग कुरा गर्दा यसरी राष्ट्र बैंकले हकप्रद सँधै रोक्ने हो भने व्यवसाय नै गर्न नसक्ने स्थिति आउने बताउँछन् ।

‘प्राथमिक पूँजी बलियो बनाउन कि व्यवसाय नै बन्द गर्नुपर्यो पुँजी बढाउन मर्जर तथा हकप्रदकको विकल्प हुन्छ, मर्जर पनि सहज नभएको देखियो,’ एक वाणिज्य बैंकका सीइओले क्लिकमाण्डूसँग भने ।

पुँजीकोष अनुपातलाई कसरी बुझ्ने ?

वाणिज्य बैंकहरुले व्यवसाय गर्दा जोखिम लिएका हुन्छन् । त्यस आधारमा आफूले पुँजी हाल्नुपर्ने हुन्छ । अहिले नेपाल राष्ट्र बैंकले ११ प्रतिशत पुँजीकोष अनुपात तोकेको छ ।

जसमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत पुर्याउनुपर्छ । बैंकहरुले यसलाई टायर १ क्यापिटल भन्छन् । यसमा बैंकको चुक्ता पुँजी, बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटेन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफालाई जोडेर आउने रकममा कर एसेटलगायत लगानी भएका इक्विटी एक्सेसको सीमा घटाएपछि आउने रकमलाई टायर १ क्यापिटल अर्थात् प्राथमिक पुँजी भनिन्छ ।

टायर २ भने ऋणपत्र, लोन लस प्रोभिजनको रकम, लगानी गर्दाको रिजर्भ र अन्य रिजर्भ जोडेर आउने रकमलाई भनिन्छ । यसरी टायर १ र २ पुँजी जोडेर आउने रकमलाई पुँजीकोष भनिन्छ ।

अब बैंकहरुले व्यवसाय गर्दा जोखिम लिन्छ । बैंकहरुको जोखिममा ऋण, सञ्चालन गर्दा आउने जोखिम तथा बजारको जोखिमलाई जोडिन्छ । यसबाहेक राष्ट्र बैंकले लगाएको क्यापिटल चार्ज, नियामकले लगाएको चार्जलाई समेत जोडेपछि बैंकहरुको कुल जोखिम सम्पत्ति निकालिन्छ ।

यसरी जम्मा पुँजीकोषलाई जम्मा जोखिम भार सम्पत्तिले भाग गरेर १०० ले गुणा गरेपछि आउने अनुपातलाई प्रयाप्तता अनुपात भनिन्छ । जुन ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । टायर १ प्राथमिक पुँजीलाई जम्मा जोखिम भार सम्पत्तिले भाग गरेर १०० ले गुणन गरेर आउने अनुपातलाई प्राथमिक पुँजीकोष अनुपात भनिन्छ । जुन साढे ८ प्रतिशत हुनुपर्छ ।

साधारण भाषामा भन्दा बैंकहरुले जोखिम लिएको आधारमा पुँजीलाई बढाउदै लैजानुपर्छ । राष्ट्र बैंकले कार्यान्वयन गरेको पुँजीकोष अनुपातले त्यही भन्छ ।

अहिले एनआईसीको साढे ८ प्रतिशत पुर्याउनुपर्ने पुँजीकोष अनुपात नपुगेपछि राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगायो । यसलाई न्यूनतम सीमामा ल्याउन बैंकसँग व्यवसाय कम गर्ने वा पुँजी बढाउनुपर्ने विकल्प छ । यसरी प्राथमिक पुँजीकोष अनुपात नपुगेको अवस्थामा बैंकहरुलाई व्यवसाय गर्न पूर्ण रोक लाग्ने नभएपनि बैंकहरुले लाभांश बाँड्न पाउने अवस्था हुँदैन । यसले सेयरधनीमा निरासा आउने छ ।

लाभांश वितरण गर्न पुँजीकोष नपुग्ने बैंकले व्यवसाय घटाउन थाले

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा मात्र ९० अर्ब रुपैयाँभन्दा बढी निक्षेप तथा ८० अर्ब रुपैयाँभन्दा बढी कर्जा बढाएको थियो । यस्तै प्रभु बैंकले ३६ अर्बले निक्षेप बढाएको थियो ।

यस्तै सिद्धार्थ बैंकले ४१ अर्ब रुपैयाँले बढाएको थियो । माछापुच्छ्रे बैंकले २७ अर्ब रुपैयाँले बढाएको थियो । गत आर्थिक वर्षमा शुरुको महिनादेखि व्यवसाय बढाउन आक्रामक देखिएका बैंकहरु चालु आर्थिक वर्षमा सुस्त छन् ।

एनआइसी एशिया र प्रभु बैंकको निक्षेप घटेको छ । सिद्धार्थ र माछापुच्छ्रे बैंकको बढेको छ । तर, पछिल्लो ३ महिनादेखि सिद्धार्थ र माछापुच्छ्रेको गति सुस्त छ ।

‘वर्षेनी लाभांश बाँड्नका लागि अब व्यवसायको बिस्तार सुस्त गर्नुको विकल्प छैन, खर्च बढ्दो क्रममा रहेको हँुँदा व्यवसाय नगरेर बस्दा अर्को समस्या हुन्छ,’ पुँजीकोष अनुपात कम भएका एक बैंकका सीइओले भने ।

औसतमा १०.५९ प्रतिशत, सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्डको १४.३७ प्रतिशत

अहिले बैंकहरुको प्राथमिक पुँजीकोष अनुपात औसतमा १०.५९ प्रतिशत छ । यसको अर्थ औसतमा वाणिज्य बैंकसँग व्यवसाय गर्नका लागि स्पेस बाँकी रहेको देखिन्छ । सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकमध्ये १० प्रतिशतभन्दा बढी प्राथमिक पूँजीमा पुँजीकोष बढी भएका बैंकहरु १७ वटा वाणिज्य बैंक छन् ।

१० वटा वाणिज्य बैंकको १० प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको १४.३७ प्रतिशत छ । यस्तै दोस्रोमा कृषि विकास बैंक १३.४१ प्रतिशत छ । नेपाल बैंक तेस्रो स्थानमा छ भने राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ ।

सबैभन्दा कम हुनेमा एनआइसी एशिया पहिलो नम्बर छ । यस्तै माछापुच्छ्रे, सिद्धार्थ, प्रभु कम हुने बैंकमा पर्छन् । यसबाहेक १० प्रतिशतभन्दा कम पुँजीकोष अनुपात हुने बैंकहरुमा कुमारी, लक्ष्मी, सानिमा र एनसीसी र सनराइज बैंक छन् ।


आशीष ज्ञवाली