अब खल्तीका प्रयोगकर्ताले फोन पेको क्यूआर प्रयोग गर्न पाउने



काठमाडौं । मोबाइल वालेट सेवा प्रदायक खल्ती र भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच फोन पे र खल्तबीच उक्त सम्झौता भएको हो ।

यस सम्झौतासँगै खल्ती फोन पेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका प्रयोगकर्ताहरुले फोन पेको क्यूआर सेवा प्रयोग गर्न सक्नेछन् ।

यसको अर्थ हो फोन पेको जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने छ ।

यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै फोन पेका नायव प्रमुख कार्यकारी दिवस सापकोटाले यो सम्झौता डिजिटल भुक्तानीमा ठूलो अर्थ राख्ने बताए ।

‘यो सम्झौताले लेस क्यास सोसाइटी बनाउन सहयोग गर्ने छ,’ सापकोटाले भने, खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै खल्तीका सीईओ खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने कार्य भएको बताए ।

‘फोन पेसँगको यो सहकार्य नयाँ यात्राको शुरुवात हो,’ खड्काले भने, ‘यो सम्झौताले लाखौं उपभोक्ताले लाभान्वित हुनेछन् ।’

सोमबार एक कार्यक्रमकाबीच फोनपेका तर्फबाट सापकोटा र खल्तीका तर्फबाट खड्काले हस्ताक्षर गरेका छन् ।

दुई वर्षअघि स्थापना भएको फोन पेमा हाल ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् । यसमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

सुन २०१७ मा सेवा शुरु गरेको खल्तीका हाल २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको जनाएको छ । खल्तीबाट युटिलिटी बिल पेमेन्टदेखि अनलाइन सपिङ पेमेन्ट गर्न सकिन्छ ।


क्लिकमान्डु