३ दिनमा आन्तरिक भ्याटतर्फ १ खर्ब ३७ अर्ब उठाउनु पर्ने दबाब



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक भ्याटतर्फ राखेको राजस्व संकलन लक्ष्य पुरा हुन कठिन देखिएको छ ।

करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्पादन, बिक्री, सेवा, अन्तःशुल्कतर्फ आन्तरिक उत्पादन र आयकर शीर्षकमा तिर्नुपर्ने भ्याट रकम नतिरेपछि आन्तरिक भ्याट उठाउने लक्ष्य पुरा नहुने देखिएको हो ।

यी तीन शीर्षकमा सरकारले पुस महिनासम्म ३ खर्ब ६ अर्ब ३४ करोड २ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रोखेको छ । तर, पुस २६ गतेसम्म यी तीन शीर्षकमा १ खर्ब ७४ अर्ब २६ करोड २० लाख रुपैयाँमात्र राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार लक्ष्य भेट्टाउन अब बाँकी ३ दिनमा १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन हुनुपर्छ । यो सम्भव देखिँदैन । सरकाले राजस्व संकलन लक्ष्य पुरा गर्न बक्यौता रकम उठाउन ताकेता गर्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले पुस २५ गते आइतबार सार्वजनिक सूचना निकाल्दै बक्यौता रकम तिर्न करदातालाई दवाव दिएका छन् । तोकिएको समयमा उपस्थित भएर कर बक्यौता नतिरे प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

राजस्व कार्यालयहरुले पटक-पटक सम्बन्धित करदातालाई पत्र काट्नुका साथै कार्यालयमै भ्रमण गर्दा पनि कर बक्यौता नतिरेपछि सार्वजनिक सूचना नै निकाल्नु पर्ने बाध्यता हुने गरेको आन्तरिक राजश्व विभागका निर्देशक तथा सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिए ।

आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ३९ अर्ब ४० करोड ६० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

गत आर्थिक वर्षमा कार्यालयहरुबाट भएको कर निर्धारण उपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकन तथा न्यायिक निकायमा अपिलमा रहेको बक्यौता रकम १ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । न्यायिक निकायमा विचाराधीन रहेको र बास्तविक बक्यौतासमेत गरी कुल बक्यौता रकम १ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बक्यौता रकम ४२ अर्ब २७ करोड २५ लाख रुपैयाँ रहेको थियो । सो वर्ष २ हजार ७३ करदाताले कार्यालयहरुबाट भएको कर निर्धारण उपर चित्त नबुझाई प्रशासकीय पुनरावलोकन तथा न्यायिक निकायमा ६१ अर्ब ४० करोड ५७ लाख रुपैयाँ तिर्नु नपर्ने अपिल गरेका थिए ।

न्यायिक निकायमा विचाराधीन रहेको र बास्तविक बक्यौतासमेत गरी कुल बक्यौता रकम १ खर्ब ३ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको विभागले जानकारी दिएको छ ।

सबैभन्दा बढी बक्यौता आयकरतर्फको

राजस्व विभागका अनुसार आयकर शीर्षकमा गत आवको अन्तिमसम्ममा सबैभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । यो शीर्षकमा २३ हजार ११३ करदाताको २३ अर्ब ५४ करोड १७ लाख रुपैयाँ बक्यौता रहेको छ ।

त्यस्तै मुल्य अभिवृद्धि करतर्फ ७४ हजार ४१३ करदाताको १४ अर्ब ६५ लाख रुपैयाँ र अन्तशुल्कतर्फ १ हजार ४३६ करदाताको ८२ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको छ ।

आयकर शीर्षक अन्तर्गत १ खर्ब १५ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बक्यौतामा २ हजार ७२६ करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनका लागि अपिल गरेका छन् । न्यायिक निकायमा विचाराधीन रहेको र बास्तविक बक्यौता गरी यो शीर्षकमा कुल १ खर्ब ३९ अर्ब १३ करोड ४ लाख रुपैयाँ बक्यौता रहेको छ ।

त्यस्तै मुल्य अभिवृद्धि करतर्फ ११ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बक्यौतामा २ हजार ११७ करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकन तथा न्यायिक निकायमा अपिल गरेका छन् । न्यायिक निकायमा विचाराधीन रहेको र बास्तविक बक्यौता गरी यो शीर्षकमा कुल २५ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बक्यौता रहेको छ ।

यसैगरी अन्तशुल्कतर्फ ३ अर्ब २६ करोड ८६ लाख रुपैयाँ बक्यौतामा १६० करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोक तथा न्यायिक निकायमा अपिल गरेका छन् । न्यायिक निकायमा विचाराधीन रहेको र बास्तविक बक्यौता गरी यो शीर्षकमा कुल ४ अर्ब ९ करोड ३६ लाख रुपैयाँ बक्यौता रहेको छ ।

१ वर्षमा बक्यौता रकम ६७ अर्ब थपियो

आन्तरिक राजस्व विभागका अनुसार गत असार मसान्तसम्म अपिलमा गएकोसमेत गरेर १ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बक्यौता बाँकी छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ६७ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बढी हो ।

त्यसैगरी गत आर्थिक वर्षमा कार्यालयहरुबाट भएको कर निर्धारण उपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकन तथा न्यायिक निकायमा अपिलमा रहेको बक्यौता रकम १ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

अपिलमा रहेको बाहेक कुल बक्यौता रकम ३९ अर्ब ४० करोड ६० लाख रुपैयाँ रहेको आन्तरिक राजस्व विभागले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्सैगरी, विभागले आर्थिक वर्ष २०७७/७८ मा आयकरतर्फ १० अर्ब १ करोड रुपैयाँ बक्यौता लक्ष्य राखेकोमा २ अर्ब ५१ करोड रुपैयाँ असुल गरेको थियो । यो रकम लक्ष्यको २५ प्रतिशत मात्र हो ।

त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ ४ अर्ब ४७ करोड रुपैयाँ लक्ष्य रहेकोमा ५ अर्ब ४१ करोड रुपैयाँ असुल भएको छ । यो रकम लक्ष्यको १२१ प्रतिशतले बढी हो ।

बक्यौता समायोजन आयकरतर्फ २३ अर्ब ३५ करोड लक्ष्य रहेकोमा ६ अर्ब १३ करोड रुपैयाँ असुल भएको थियो । यो रकम लक्ष्यको तुलनामा २६ प्रतिशतमात्र हो ।


क्लिकमान्डु