पुस मसान्तमा लक्ष्यअनुसार आन्तरिकतर्फ भ्याट नउठ्ने पक्का, भ्याट तिर्नुपर्ने पैसा जग्गा र सेयरमा



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक भ्याटतर्फ राखेको राजस्व संकलन लक्ष्य पूरा हुन कठिन देखिएको छ ।

करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्पादन, बिक्री तथा सेवामा भ्याट रकम नतिरेपछि आन्तरिक भ्याट उठाउने लक्ष्य पूरा नहुने देखिएको हो ।

आन्तरिकतर्फ लक्ष्यअनुसार भ्याट नउठ्ने भएपछि करदाता कार्यालयले करदातालाई दबाब दिन सूचना समेत निकालेको छ । आन्तरिक राजस्व कार्यालय पुतलिसडक र बानेश्वरले पुस २५ गते आइतबार सार्वजनिक सूचना निकाल्दै बक्यौता रकम तिर्न करदातालाई दबाब दिएका छन् ।

जसमा नाम चलेका निर्माण व्यवसायीदेखि मिडिया कम्पनीसम्म छन् । तोकिएको समयमा उपस्थित भएर कर बक्यौता नतिरे प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

राजस्व कार्यालयहरुले पटक-पटक सम्बन्धित करदातालाई पत्र काट्नुका साथै कार्यालयमै भ्रमण गर्दा पनि कर बक्यौता नतिरेपछि सार्वजनिक सूचना नै निकाल्नु पर्ने बाध्यता हुने गरेको आन्तरिक राजश्व विभागका निर्देशक तथा सूचना अधिकारी राजु प्रसाद प्याकुरेलले जनाकारी दिए ।

‘करदाताहरुको बक्यौता रकम यति नै पुगेपछि सार्वजनिक सूचना निकाल्नु पर्छ भन्ने कुनै कानूनी व्यवस्था छैन् । पटक–पटक बक्यौता रकम तिर्न आग्रह गर्दा तिर्दैनन् भने यस्ता सार्वजनिक सूचना निकालिने गरिन्छ,’ उनले भने ।

सार्वजनिक सूचना निकाल्ने वित्तिकै बक्यौता रकम सबै नउठ्ने प्याकुरेल बताउँछन् । कतिपयले व्यवसाय छोडेर विदेश पनि पुगेका हुन सक्ने प्याकुरेलको भनाइ छ । तर, करदाताको जायजेथा बेचेर भएपनि बक्यौता रकम उठाउने उनले बताए ।

आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ३९ अर्ब ४० करोड ६० लाख रुपैयाँ भ्याट बक्यौता उठाउन बाँकी छ । आन्तरिक राजस्व विभागका अनुसार गतवर्षसम्म भ्याटमा नन फाइलर करदाताको संख्या ३८.४६ प्रतिशत छ ।

कतिपय करदाताले भ्याट तिनुपर्ने पैसा जग्गा र सेयरमा लगाएको कारण समेत आन्तरिकतर्फ भ्याट नउठेको कर अधिकृतहरु बताउँछन् ।

हामीले लगाउने जरिवानाभन्दा बढी प्रतिफल जग्गा र सेयरबाट भएपछि भ्याट तिर्नुभन्दा सो रकम जग्गा र सेयरमा समेत लगेको भेटिएको एक कर अधिकृतले बताए ।

कतिपय करदाता भने बिलिङ भएपनि बजारमा देखिएको तरलता समस्याले पैसा नउठेको हुँदा समयमा भ्याट बुझाउन नपाइने बताउँछन् ।


‘भ्याटमा एकतर्फी बुझाइ भएको हुँदा समस्या भएको हो, बिल काटेको १ वर्षसम्म पनि पैसा उठेको हुँदैन, बजारमा तरलताको समस्या छ नियत खराब भएर नतिरेको होइन,’ उनले भने ।

कतिपय सञ्चालक भने कर्मचारीहरुको गल्तीका कारण आफ्नो कम्पनीको नाम आएको समेत दाबी गरेका छन् ।


क्लिकमान्डु