एक वर्षमा १ लाख लगानी गर्दा नबिलबाट ३४ हजार कमाउँदा मञ्जूश्रीबाट १८१ हजार कमाइ



काठमाडौं । सेयर बजारमा गरिने लगानीको उद्देश्य राम्रो प्रतिफलनै हो । त्यसैले लगानीकर्ताले कुनैपनि कम्पनीमा लगानी गर्दा कम्पनीले दिने बोनस सेयर पनि एक हो । लगानीकर्ताले राम्रो बोनस दिने कम्पनीहरुले प्रतिफलपनि राम्रो दिन सक्छन् भन्ने आधारमा लगानी गरेका हुन्छन् ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिनेमा नबिल बैंक थियो । बैंकले ३३.६ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकले पछिल्लो १० वर्षयता सबैभन्दा बढी बोनस दिएका कारण पनि लगानीकर्ता नबिल बैंकतर्फ आकर्षित हुनु स्वभाविक नै थियो ।

वाणिज्य बैंकमा लामो समयदेखि अधिकांश सूचकांकमा नम्बर वान रहेको नबिल बैंकमा आँखा चिम्लेर लगानी गर्नेहरुको कमी छैन । त्यो किनपनि भने नबिल बैंकले लामो समयदेखि लगानीकर्तालाई दिएको आकर्षक प्रतिफल नै हो ।

यता फाइनान्समा सबैभन्दा बढी बोनस सेयर घोषणा गर्नेमा मञ्जुश्री फाइनान्स थियो । मञ्जुश्रीले लगानीकर्ताका लागि ४० प्रतिशत लाभांश दिएको थियो । मञ्जूश्रीले दिएको बोनसको इतिहास हेर्दा योपनि हालसम्मकै सबैभन्दा बढी हो । त्यसअघि फाइनान्सले आव २०७६/७७ मा सबैभन्दाबढी १८ प्रतिशत बोनस सेयर दिएको थियो ।

अब यी दुबै कम्पनीमा गत वर्षको एकै समयमा १ लाख रुपैयाँ लगानी गर्नेमध्ये कसले राम्रो प्रतिफल पाए त ?

पछिल्लो एक वर्षमा लगानीकर्तालाई नबिल बैंकले ३४ प्रतिशतको प्रतिफल दिएको छ भने मञ्जुश्री फाइनान्सले १८१ प्रतिशत प्रतिफल दिएको छ । अर्थात् गत वर्ष दुबै कम्पनीमा १/१ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्ताले नबिलबाट ३४ हजार रुपैयाँ प्रतिफल पाए भने मञ्जुश्री फाइनान्सबाट १ लाख ८१ हजार रुपैयाँको प्रतिफल पाएका छन् ।

गत वर्ष आजकै दिन नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११११ रुपैयाँ रहेको थियो । दिएको लाभांश समायोजनपछि कम्पनीको सेयर मूल्य आजका दिन प्रतिकित्ता १११९ रुपैयाँ रहेको छ ।

गत वर्ष नबिल बैंकमा १ लाख रुपैयाँ लगानी गर्दा लगानीकर्ताले ९० कित्ता सेयर पाएका थिए । त्योबेला ९० कित्ता सेयर हुनेसँग अहिले हातमा १२० कित्ता सेयर छ । १२० कित्ताको आजको मूल्य १ लाख ३४ हजार २८० रुपैयाँ पर्न जान्छ । बजार बढेको समयमा बैंकको सेयर प्रतिकित्ता १६५३ रुपैयाँसम्म पुगेको थियो ।

यता मञ्जुश्री फाइनान्सको गत वर्ष आजकै दिन १ लाख रुपैयाँमा सेयर किन्दा ३०७ कित्ता पाइन्थ्यो । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ थियो ।

कम्पनीले बोनस दिँदा १२२ कित्ता बोनस थपिएर ४२९ कित्ता सेयर भयो । त्यो सेयर आजको मूल्यमा बिक्री गर्दा २ लाख ८१ हजार ८५३ रुपैयाँ आउँछ । आज यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६५७ रुपैयाँ रहेको छ । बजार बढेको समयमा यो कम्पनीको सेयर प्रति कित्ता १३७० रुपैयाँसम्म पुगेको थियो ।

लाभांशको आधारमा हेर्दा र सूचकांकमा हेर्दा नबिल बैंक र मञ्जुश्रीको तुलना गर्न मिल्दैन । तर, एकवर्षमा भने लगानीकर्ताको हिसाबले नबिलमाले भन्दा बढी प्रतिफल मञ्जुश्री फाइनान्समा लगानी गर्नेले पाएका छन् ।

लगानीयोग्य रकम धेरै हुने लगानीकर्ताको लागि बैंक तथा फाइनान्स कम्पनी पनि लगानीका लागि राम्रै मानिन्छन् । यस्ता कम्पनीमा गरेको लगानी अपबाद बाहेक केही समय कुर्न सकेको खण्डमा कालान्तरमा धेरै कमाउने सकिने विभिन्न तथ्य तथ्याङकले पुष्टि गर्छ ।


क्लिकमान्डु