भायानेटलाई पछि पार्यो क्लासिक टेकले, एक वर्षमा थप्यो ७२ हजार ग्राहक
काठमाडौं । मुलुकमा इन्टरनेट सेवा प्रदायकबीच चर्को प्रतिस्पर्धा छ । सञ्चालनमा रहेका केही ठूला सेवा प्रदायक आफ्ना ग्राहक जोगाउँदै नयाँ तान्न प्रतिस्पर्धा गरिहेका छन् भने नयाँ थपिने इन्टरनेट कम्पनीको संख्या वृद्धि भइरहेको छ ।
ग्राहक संख्याको हिसाबले हेर्ने हो भने मुलुकका पाँच ठूलो इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिक , नेपाल टेलिकम, सुविसु, क्लासिक टेक र भायानेट छन् ।
यी पाँच कम्पनीमध्ये सधै पाँचौ नम्बरमा पर्ने क्लासिक टेकले भने पछिल्लो समयमा ग्राहक संख्या तीव्ररुपमा वृद्धि गरेको छ । उसले भायानेटलाई पछि पार्दै चौथो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको २०७८ कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार क्लासिक टेकका ग्राहक संख्या १ लाख ८८ हजार ३ सय ३ पुगेका छन् । यो संख्या भायानेटको भन्दा धेरै हुन् । भायानेटका ग्राहक १ लाख ५५ हजार ७ सय ६९ रहेका छन् ।
एक वर्षअघिसम्म भायानेट क्लासिक टेकभन्दा अघि थियो । २०७७ कात्तिकको रिपोर्टअनुसार भायानेटका ग्राहक १ लाख २३ हजार ७ सय १२ थिए भने क्लासिक टेकका ग्राहक १ लाख १५ हजार ८ सय ७६ थिए । क्लासिक टेकले एक वर्षको अवधिमा ७२ हजार ग्राहक थप्न सफल भएको छ भने भायानेटले ३२ हजार ग्राहक थपेको छ ।
एक वर्षमा ७२ हजार ग्राहक थपेसँगै क्लासिक टेमक चौथो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ भने भायानेट पाँचौं स्थानमा झरेको छ ।
ग्राहकका हिसाबले पहिलो स्थानमा छ वल्र्डलिंक । २०७८ कात्तिकसम्म उसका ग्राहक ५ लाख ५० हजार ५ सय ७९ छन् ।
दोस्रो स्थानमा रहेको नेपाल टेलिकमका ग्राहक ३ लाख ८ हजार ७ सउ ९१ छन् भने तेस्रो स्थानमा रहेको सुविसुका ग्राहक २ लाख ४३ हजार ७ सय ३३ छन् ।