वाणिज्य बैंकमा निक्षेप बढ्न थाल्यो, पुस दोस्रो सातामा १४ अर्बले बढ्यो



काठमाडौं । वाणिज्य बैंकमा निक्षेप बढ्न थालेको छ । पुसको पहिलो साता ४ अर्ब रुपैयाँले घटेको निक्षेप दोस्रो सातासम्म आइपुग्दा १४ अर्ब रुपैयाँले बढेको छ ।

वाणिज्य बैंकमा एक सातामा निक्षेप १४ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह ११ अर्ब रहेको छ । पुस पहिलो साता बैंकको कर्जा प्रवाह ३ अर्ब रुपैयाँ रहेको थियो ।

पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेका बैंकले एक साताको अवधिमा अर्थात पुस १६ गतेसम्म आइपुग्दा निक्षेप १४ अर्ब रुपैयाँले बढाएर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै बैंकमा कर्जाको माग पनि बढ्न थालेको छ । पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह १६ गतेसम्म आइग्पुग्दा ११ अर्ब रुपैयाँले बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा पैसा फर्किन थालेको छ । चरम तरलता अभाव भोगिरहेका बैंकहरुमा पैसा विभिन्न माध्यमबाट आउन थालेपछि कर्जा–निक्षेप अनुपात पनि घट्न थालेको छ । अहिले बैंकको सीडी रेसियो ९१.०२ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु