एक करोड नाघे मोबाइल वालेट प्रयोगकर्ता, कसका कति ग्राहक ?



काठमाडौं । नेपालमा मोबाइल वालेट प्रयोकर्ता एक करोडबाट माथि लागेका छन् । डिजिटल कारोबार बढेसँगै मोबाइल वालेट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको वित्तीय विवरणअनुसार मोबाइल वालेट प्रयोगकर्ता १ करोड २८ हजार ७ सय ७१ पुगेका छन् ।

हालसम्म राष्ट्र बैंकबाट २७ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी)हरुले अनुमतिपत्र लिएका छन् । सबै सेवा प्रदायक सञ्चालन हुन सकेका छैनन् । सञ्चालनमा रहेका केही मोबाइल वालेट कम्पनीका उपभोक्ता १ करोडबाट माथि लागेका हुन् । नेपालमा हाल इसेवा, आइएमइ पे, खल्ती, सेलपे, प्रभु पे, मोरु जस्ता केही मोबाइल वालेटहरु सञ्चालनमा रहेका छन् ।

सबैभन्दा धेरै प्रयोग भइरहेको मोबाइल वालेट इसेवा हो । इसेवा नेपालमा डिजिटल पेमेन्ट शुरु गर्ने पहिलो मोबाइल वालेट पनि हो । सन् २००९ देखि नै इसेवा शुरुवात भएको थियो । यसका उपभोक्ता ४२ लाखको हाराहारीमा रहेको बताउँदै आएको छ ।

आईएमई पे, खल्ती पनि मुलुकमा प्रतिस्पर्धामा रहेका मोबइल वालेट कम्पनी हुन् । केही दिनअिघ मात्रै खल्ती वालेटमा इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले ४० प्रतिशत शेयर लगानी गरेको घोषणा गरेको छ । हाल खल्तीका २० लाख बढी नियमित प्रयोगकर्ता रहेको उसले जनाएको छ ।

यी वालेटबाट हुने कारोबार रकम पनि वृद्धि हुँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार मोबाइल वालेटबाट हुने भुक्तानी मासिक १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ पुगेको छ । कात्तिक महिनामा १ करोड ३५ लाख ६५ हजारभन्दा धेरै कारोबार संख्या भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त मोबाइल वालेटहरुमा आइएमई पे, इ सेवा, सेल पे, सिजी पे, खल्ती, मोरु, क्यु पे, पे टाइम, माई पे, मोहर पे कार्ड, प्रभु पे, इ–नेट पे, मोको र कुराकानी पे रहेका छन् । त्यस्तै अन्य, मोबाइला वालेटहरुमा पेवेल, डि पैसा, सुपर याप यो पे, यात्रा कार्ड, लेनदेन सेवा, डिजी पे, मोवालेट, आई पे, आई क्यास, नमस्ते पे, एन क्यास, छिटो पैसा र सजिलो पे रहेका छन् ।


क्लिकमान्डु