पश्चिम नेपालमा इन्टरनेट सेवा विस्तार गर्न भायनेट र चाइना कम्युनिकेसनबीच साझेदारी



काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ ।

चाइना कम्युनिकेसन सर्भिसेज चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो । जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ । चाइना कम्युनिकेशन सर्भिससँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ ।

यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६ र७) प्रदेशहरुमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने छ । यसका साथै भायनेट उत्कृष्ट डिजिटल अनुभवमार्फत् आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागि परेको छ ।

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले भने, “चाइना कम्युनिकेशन सर्भिस सँग साझेदारी गरेर, हामी पश्चिम नेपालमा हाम्रो अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेका छौं । यो पश्चिम नेपालमा हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।”

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

भायनेट कम्युनिकेसन्स प्रा।लि। नेपालको अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायक मध्ये एक हो । सन् १९९९ मा स्थापित, भायनेट सँधै भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न अग्रभागमा आउँछ ।

सन् २०११ मा, भायनेटले नेपालमा ग्राहकहरूलाई उच्च(गतिको विश्वस्तरीय इन्टरनेट प्रदान गर्ने फाइबर अप्टिक्स इन्टरनेट सेवाको सुरुवात गरेको थियो । चाइना कम्युनिकेसन्स सर्भिसेसको नेपालमा उपस्थिति सन् २०१० बाट सुरु भएको थियो । र, अहिले यसले एनसेल, एनटिसी, र स्मार्ट टेलिकम लगायतका ग्राहकहरूलाई सेवा दिइरहेको छ ।


क्लिकमान्डु