फ्रान्सका राजदूत गिल्सले भने- नेपाल र युरोपमा सिधा हवाई उडान आवश्यक छ



काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओले नेपाल र युरोपबीच सिधा हवाई उडान आवश्यक भएको बताएका छन् । नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र राजदुत गिल्स बौरबाओबी भएको भेटमा उनले यस्तो बताएका हुन् ।

मंगलवार नेपाल पर्यटन बोर्डमा भएको भेटकाक्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरुको आदान प्रदान गर्ने कुरामा जोड दिएका छन् ।

भेटका क्रममा राजदुत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकहरुले नेपालको साहसिक पर्यटन,पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दता मन पराउने बताए ।

उनले आफू समेत पदमार्ग गर्न रुचि राख्ने व्यक्ति भएको बताए । उनले फ्रेन्च पर्यटकको नेपाल आगमनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यस्तै राजदूत गिल्सले युरोपियन सहरहरुबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपियन पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

उनले साहसिक पर्यटनमा रुची राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिए ।
यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट आउटबण्ड पर्यटनमा भारत, भुटान, थाइल्याण्डका गन्तव्यमा कार्यगर्ने पर्यटन व्यवसायीहरुलाई नेपालसम्म लिंक गर्नु पर्नेमा जोड दिए । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दौत्य सम्बन्ध रहँदै आएको छ ।


क्लिकमान्डु