टेलिकमको एउटै तारमा इन्टरनेट, टिभी र टेलिफोन, ३ वर्षमा १३००% ले बढे ग्राहक



काठमाडौं । मुलुकमा इन्टरनेट सेवा प्रदायकबीच ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा चलिरहेको बेला सरकारी स्वामित्वको नेपाल टेलिकमले एफटीटीएच फाइबर नेटमा उल्लेख्य सफलता पाएको छ ।

नेपाल टेलिकमको पछिल्लो तीन वर्षमा आक्रमकरुपमा फाइबर नेटको बजार विस्तार गरिरहेको छ । यही बजार विस्तारसँगै उसले फाइबर नेटको ग्राहक संख्या १३ सय प्रतिशतले वृद्धि गरेको छ ।

फाइबर नेटको लोकप्रियतासँगै उसका कुल इन्टरनेट ग्राहक संख्या पनि उल्लेख्य वृद्धि भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको असोज महिनाको एमआईएस रिपोर्टअनुसार नेपाल टेलिकमका फाइबर नेट प्रयोगकर्ता १ लाख ४५ हजार ६ सय ५५ छन् ।

तीन वर्षअघि २०७६ असोज महिनाको तथ्यांक हेर्ने हो भने फाइबर नेट चलाउने ग्राहकको संख्या १० हजार ३ सय ३५ थियो । यस हिसाबले हेर्दा तीन वर्षमा १ हजार ३ सय ९ प्रतिशतले ग्राहक संख्या वृद्धि हुदै १ लाख ३५ हजार ३ सय २० जना थपिएका छन् ।

गत वर्ष २०७७ असोज महिनामा नेपाल टेलिकमको फाइबर नेट चलाउनेको संख्या ५९ हजार ७ सय १३ रहेको थियो । उक्त संख्या यस वर्षको असोजसम्म ८५ हजार ९ सय ४२ थप हुँदै ६० प्रतिशतले वृद्धि भएको छ ।

छोटो समयमा फाइबर नेटमा सफलता पाउनुलाई गुणस्तरीय र सस्तो सेवा मुख्य कारण रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।

उनकाअनुसार सरकारी सेवा भएका कारणले पनि ग्राहकले पाउने व्यान्डविथमा तलमाथि हुदैन । जसले गर्दा ग्राहकले २० एमबीपीएस लिएको छ भने त्यत्ति नै सधैभरी पाउने भएकाले ग्राहकले धेरै विश्वास गरेको अधिकारीको भनाइ छ ।

‘व्यान्डविथमा नेपाल टेलिकमले ठग्दैन भन्ने विश्वास ग्राहकलाई छ,’ अधिकारीले भने ।

त्यस्तै, अन्य इन्टरनेट सेवा प्रदायकको भन्दा सस्तो फाइबर इन्टरनेट उपलब्ध गराएका कारण पनि यसमा ग्राहक थपिनेक्रम बढेको अधिकारीको भनाइ छ ।

टेलिकमले फाइबर नेट उपभोग गर्ने ग्राहकलाई साथमा टिभी र टेलिफोन सेवाको प्याकेज पनि उपलब्ध गराएको छ ।

एउटै लाइनबाट इन्टरनेट, टिभी र टेलिफोन उपलब्ध हुनेभएपछि ग्राहकले नेपाल टेलिकमको फाइबर नेट रुचाएको अधिकारीले बताए ।

‘बजारको मार्केटिङभन्दा पनि वर्ड अफ माउथबाट धेरै ग्राहक बनेका छन्,’ उनले भने ।

फाइबर नेटको विस्तार तीव्र भएसँगै टेलिकमका इन्टरनेटका कुल ग्राहक ३ लाख ९ हजारबाट माथि लागेका छन् ।

यसमा फाइबर नेट चलाउने १ लाख ४५ हजार ६ सय र केवल नेट चलाउने १ लाख ४४ हजार ८ सय छन् । त्यस्तै, वायरलेस इन्टरनेट चलाउनेको संख्या १८ हजार ५ सय रहेको छ ।

गत वर्षको असोज महिनाको तुलनामा टेलिकमका कुल ग्राहक संख्या १७ प्रतिशतले वृद्धि हँदै ४४ हजार ५ सय थपिएका छन् । गत वर्ष कुल ग्राहक संखया २ लाख ६४ हजार ५ सय थिए ।


क्लिकमान्डु