नेपाल एयरलाइन्सले ‘डेन्जरस गुड्स’ आयात र निर्यातकाे अनुमति पायो, निगमको आम्दानी बढ्ने



काठमाडौं । नेपाल एयरलाइन्सले ‘डेन्जरस गुड्स’ अर्थात् खतरनाक पदार्थ आयात र निर्यातका लागि अनुमति प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि आज नेपाल एयरलाइन्सले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।

सोमबार पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

अब नेपाल एयरलाइन्सलाई खतरनाक पदार्थको सूचीमा रहेका वस्तुको आयात तथा निर्यातका लागि स्थायीरुपमा बाटो खुला भएको छ ।

‘नेपाल एयरलाइन्सका लागि यो विशेष अवसर हो, एयरलाइन्सलाई कार्गो ढुवानी गर्दा हुने आम्दानी ३ गुणासम्मले बढ्नेछ,’ निगमका कार्यकारी अध्यक्ष अधिकारीले भने ।

अधिकारीले यसले भ्यालु एड समेत गर्ने बताए ।

‘निगमको ६३ वर्षको इतिहासमा पहिलो पटक यो अवसर प्राप्त गरेको छ, यसले नेपाल एयरलाइन्सको आम्दानीसँगै सरकारको राजश्व समेत बढाउनेछ,’ अधिकारीले भने ।

हाल नेपाल एयरलाइन्ससँग १५ टन क्षमताको कार्गो बडी छ । कतिपय अवस्थामा कार्गो बढी नभरिने अवस्था आउथ्यो भने अब यात्रु नभएको समयमा पनि कार्गोको व्यापार राम्रो हुने अधिकारीको दाबी छ ।

यता पर्यटनमन्त्री प्रेम आलेले निगमलाई यस्ता पदार्थ आयात तथा निर्यात गर्दा ३ गुणाबढी आम्दानी हुने बताए ।

उनले नेपाल एयरलाइन्सलाई माथि उठाउनका लागि सबै खाले सहयोग गर्न आफू तयार रहेको समेत बताए ।

‘निगमसँग अहिले ५० अर्बभन्दा बढी ऋण छ, ९ प्रतिशत ब्याजदर छ, अब यसलाई माथि उकास्नैपर्छ, यसका लागि सक्दो सहयोग गर्न तयार छु,’ उनले भने ।

डेन्जरस गुड्समा लिथियम ब्याट्री, म्याग्नेटाइज सामग्री तथा रेडिएटिभ सामग्रीहरु पर्छन् । हाल नेपाल एयरलाइन्सले आइकाओले डेन्जरस गुड्स अन्तर्गत क्लास ७ र ९ मा भएका सामग्री ल्याउनका लागि अनुमति प्राप्त गरेको हो ।

यसअघि नेपाल एयरलाइन्सले अस्थायीरुपमा अनुमति लिएर ३/३ महिनामा यस्ता सामान आयात तथा निर्यात गर्दै आएको थियो ।


क्लिकमान्डु