नाडा निर्वाचनः के भन्छन् अध्यक्षका उम्मेदवार चौधरी र थापा ?



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षका दुई उम्मेद्वारले प्यानलसहित निर्वाचनमा उत्रिएका छन् ।

आगामी मंसिर २२ गते हुन लागेको नाडाको ४५औं साधारणसभा तथा निर्वाचनमा यसपटक अध्यक्ष पदका उम्मेदवारहरु करण चौधरी र धु्रव थापा प्यानलसहित निर्वाचनमा होमिएका छन् ।

निर्वाचनमा होमिएका अध्यक्षका दुबै उम्मेदवारहरुले आफूहरु सकेसम्म सहमतिमै अघि बढ्ने पनि बताउँदै आएका छन् ।

ठूलादेखि साना व्यवसायीहरूको साथ आफूलाई भएकाले जित सुनिश्चित भएको चौधरीको दाबी छ भने अध्यक्षका अर्का प्रत्यासी नाडाका पूर्वउपाध्यक्ष समेत रहेका ध्रुव थापाले पनि आफ्नो प्यानल नाडाको इतिहासकै समावेशी प्यानल भएको भन्दै जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।

करण चौधरीको प्यानलमा रहेका अनुपकुमार बराल, सुरेन्द्र कुमार बराल, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलन बाबु मल्ल, निलमणी पाठक,पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

ध्रुव थापाको प्यानलमा अकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिस थपलिया, यमुना श्रेष्ठ, अमर ज्योति रञ्जित, बी एन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन बि. एस् कंसाकार र सञ्जयकुमार खेतान छन् ।

मेरो प्राथमिकता विद्युतीय सवारी प्रवर्द्धन र प्रादेशिक संरचनाः चौधरी
नाडाको आगामी कार्यसमितिको चयनका लागि यतिबेला संस्थाका सदस्यहरु निर्वाचनमा होमिएका छन् । सकेसम्म सहमतिका लागि प्रयास भइरहेको छ भने अन्तिम क्षणसम्म पनि यो प्रयास जारी रहनेछ । अध्यक्षका रुपमा मैले केही प्राथमिकताहरु तय गरेको छु ।

जसमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा जोडदेखि नाडालाई प्रादेशिक संरचनामा रुपान्तरण गर्नु हुनेछ ।

नाडाले अब विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नुपर्छ । आगामी दिनमा विद्युतीय सवारी साधनको प्रयोग र आवश्यकता बढ्दै जाने निश्चित छ । त्यसैले विद्युतीय सवारी साधनलाई पनि समेट्न सक्नुपर्छ ।

मैले इलेक्ट्रिक सवारीलाई प्रथामिकतामा राख्ने योजना बनाएको छु । विद्युतीय सवारी साधनका लागि आवश्यक पूर्वाधार बनाउनु आजको मुख्य विषय हो । विद्युतीय सवारीलाई आवश्यक पर्ने पूर्वाधारका लागि अग्रसर रुपमा लागिपरेका छौं । विद्युतीय सवारीलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार निर्माणमा हाम्रो जोड रहनेछ ।

साथै, पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नेतर्फमा पनि हाम्रो प्राथमिकता रहनेछ । साथै, अब हामीले स्वदेशमा हुने उत्पादनमा पनि जोड दिनुपर्नेछ । विद्युतीय सवारीका लागि आवश्यक ब्याट्रीदेखि मोटर, इन्भटरलगायतका पाटपूर्जाको नेपालमै उत्पादन गर्न अग्रसर हुनु नै मेरो प्राथमिकता रहनेछ ।

त्यसबाहेक नाडाले अहिले गरिरहेको कामलाई निरन्तरता दिँदै थप नयाँ कामको पनि शुरुवात हुनेछ । आगामी दिनमा नाडाले ७ वटै प्रदेशमा संरचना बनाइनेछ । साथै, साना व्यवसायीदेखि ठूला कर्पोरेट हाउसलाई समेटेर अगाडि बढ्नु नै मेरो प्राथमिकता हुनेछ ।

साना र ठूला सबै व्यवसायीलाई समेटेर अगाडि बढ्छुः थापा
आगामी निर्वाचनमा म प्यानलसहित चुनावमा होमिएको छु । नाडाको वर्तमान कार्यसमितले जे जति काम गरेको छ । त्यसलाई निरन्तरता दिँदै प्रादेशिक संरचना बनाउनु मेरो उद्देश्य हुनेछ ।

नाडाको प्रदेशिक संरचनाको एजेण्डा हामिले पहिले उठाएको विषय हो । र, यसलाई निरन्तरता पनि दिनेछु । नाडा ८ वर्षपछि प्रादेशिक संरचनामा गएको छ ।

त्यसबाहेक सानादेखि ठूला सबै व्यवसायीको साझा संस्थाका रुपमा नाडालाई अगाडि बढाउनु मेरो प्राथमिकता हुनेछ । हिजोका दिनमा नाडा ठूला व्यवसायीहरुको मात्रै संघ भएको बुझिन्थ्यो भने अब सबैको साझा संस्थाका रुपमा स्थापित गराउनेछु ।

नाडालाई संस्थागत रुपमा बलियो बनाउनु अहिलेको आवश्यकता हो । नाडाको पहुँज साना व्यवसयीमाझ अझै पुग्न सकेको छैन । अब मेरो प्राथमिकतामा सबैको पहुँचमा पुर्याउनु हुनेछ ।

अबको नाडालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनुपर्छ । यसका लागि पनि मैले काम गर्नेछु । निर्वाचनको मिति नकिजिँदै गर्दा सबैमा उत्साह बढेको छ । साथै, अन्तिम समयसम्म सहमतिको प्रयास जारी नै रहनेछ ।


क्लिकमान्डु