एमाले महाधिवेशनः चितवनका होटलमा १५ करोडभन्दा बढीको व्यापार



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका कारण चितवनका होटलमा १५ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहसँगै समग्र चितवनका होटलमा एमाले महाधिवेशनका कारण १५ करोड रुपैयाँभन्दा बढी व्यापार भएको जानकारी दिए ।

उनका अनुसार सौराहको हकमा मात्रै एमाले पार्टीसँग ३५ सय बेडका लागि सम्झौता भएको थियो । जसमा होटलले बेड, ब्रेकफास्ट र रातिका खाना समावेश उपलब्ध गराएको थियो । तर सौरहासँगै भरतपुर तथा संघमा आबद्ध नभएका होटलमा गरी १० हजारभन्दा बढी बेडको अकुपेन्सी भएको बताए ।

‘विस्तृतरुपमा अझै तथ्यांक आइसकेको छैन, तर हाम्रो प्रारम्भिक हिसाबमा १० हजारभन्दा बढी रुमहरु अकुपाइ भएको पाएका छौं,’ उनले भने ।

सौराहमा मात्रै महाधिवेशका लागि ३५ सय रुम बुक भएका थिए ।

भट्टराईका अनुसार एमालेसँग महाधिवेशनका लागि ३५ सय रुम बुक गर्दा १ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको थियो । जसमध्ये पार्टीले एड्भान्सका रुपमा ८० लाख रुपैयाँ दिएको थियो ।

‘१ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको थियो, जसमा ८० लाख रुपैयाँ प्राप्त गरिसकेका छौं,’ उनले भने, ‘महाधिवेशन एक दिन थपिँदाको खर्च हिसाब गरेर विल पेश गर्नेछौं ।’

उनले बिल पेश गरेको एक सातामा पार्टीबाट पैसा भुक्तानी हुने सहमति समेत भएको बताए ।

भट्टराईले कोरोना महामारीका कारण ठप्प चितवनको होटल व्यवसायले महाधिवेशनका कारण व्यापारमा राम्रो भएको बताए ।

‘इतिहासमै यहाँका होटलले महाधिवेशनको अवसरमा राम्रो व्यापार गर्न सफल भएका छन्, महाधिवेशनले होटलको व्यापार मात्रै नभइ आगामी दिनमा यहाँको पर्यटन प्रबर्द्धन गर्न सहयोग गरेको छ,’ उनले भने ।

उनका अनुसार कोरोना अगाडि दैनिक १ करोड रुपैयाँको व्यापार हुने भए पनि अन्य दिनमा २०/२५ लाखको मात्रै व्यापार भइरहेको थियो । तर एमाले महाधिवेशनका कारण होटलले राम्रो व्यापार गरेको उनको भनाइ छ ।

भट्टराईले महाधिवेशन सकिएपछि अन्य बुकिङहरु आउन शुरु भइसकेको पनि जानकारी दिए ।

अनुशासित एमाले कार्यकर्ता
भट्टराईले दशौं हजार नेता तथा कार्यकर्ता होटलमा बसे पनि कुनै पनि समस्या नभएको बताए । सामान्य अवस्थामा ठूलो संख्या हुँदा होहल्लाका छिटपुट घटना बाहिर आए पनि महाधिवेशनको समयमा कहीँ कतै कुनै समस्या नभएको उनले बताए ।

‘होटलका कर्मचारीहरुसँग गर्ने व्यवहार पनि निकै राम्रो भएको पायौं,’ उनले भने, ‘४ दिनसम्म कुनै पनि नराम्रो व्यवहार भएन ।’


क्लिकमान्डु