कोभिड प्रभावित ३ हजार पर्वतारोहीलाई साढे २ करोड बराबरको राहत दिइने



काठमाडौं । नेपाल पर्वतारोहण संघले कोरोना महामारीबाट पीडित श्रमिकलाई २ करोड ६० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने भएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा ३ हजार श्रमिकलाई उक्त रकम बराबरको राहत उपलब्ध गराउने जानकारी संघले दिएको छ ।

संघका अनुसार रिसर्चका आधारमा ३ हजार श्रमिकलाई उक्त राहत उपलब्ध गराइनेछ । यसका लागि संघले शुरुमा अध्ययन गर्ने र सबैभन्दा बढी कोरोना प्रभावित श्रमिकलाई राहत उपलब्ध गराइने संघको भनाइ छ ।

संघका अनुसार जापानस्थित द निपोन पाउण्डेशनको २ लाख १३ हजार डलर अर्थात् २ करोड ५६ लाख रुपैयाँ सहयोग तथा संघको ४१ हलाख रुपैयाँ सहयोग रहनेछ । जसमध्ये १ लाख ९६ हजार ८२५ डलर राहत वितरणमा खर्च गरिनेछ भने १९ हजार ५८५ डलर प्रशासनिक काममा खर्च हुनेछ ।

संघका अनुसार कोरोनाबाट प्रभावित महिला पर्वतारोही तथा कामदार, एक महिला (पर्वतारोहीका श्रीमति), अपांग पर्वतारोही, सन् २०१९ यता जागिर गुमाएका पर्वतारोही, ज्येष्ठ नागरिक पर्वतारोही र सन् २०१७ यता सक्रियरुपमा काम गरिरहेका पर्वतारोहीलाई वितरण गरिनेछ ।

संघले दिएको जानकारी अनुसार त्यस्ता श्रमिकहरुलाई ५० डलरका दरले राहत प्रदान गरिनेछ । उनीहरुले ५० डलर बराबरको खाद्यान्न प्राप्त गर्नेछन् ।

संघले काठमाडौंको ठमेल तथा कपन र दक्षिणकाली नगरपालिकाको खोकनाबाट राहत वितरण गर्ने जानकारी दिएको छ ।

त्यसबाहेक संघले उक्त रकमबाट २०० जना कुष्ठरोगीलाई ज्याकेट र ब्ल्यांकेटका साथै अक्सिजन सिलिण्डका साथै सेनिटाइजर, मास्क, पञ्जा तथा साबुन वितरण गर्नेछ ।

संघले आगामी फेब्रअरी महिनासम्ममा सबै कोरोना प्रभावितलाई राहत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

संघमा हाल ११ हजार ४४१ श्रमिक सदस्य छन् । जसमध्ये ५ हजार ६२८ जना ब्ल्याक बुक प्राप्त छन् भने २ हजार ६३१ जनाले ब्लु बुक प्राप्त गरेका छन् । साथै, २ हजार १५६ जनाले रेड बुक प्राप्त गरेका छन् भने ३०४ जना कुक र ७२२ जना किचनमा काम गर्ने श्रमिक छन् ।


क्लिकमान्डु