२ महिनामा एमडीएमएस लागू नभए प्राधिकरणमा धर्ना शुरु गर्छौं: मोबाइल व्यवसायी



काठमाडौं । दुई महिनाभित्र विदेशबाट भित्रिरहेका अवैध मोबाइल रोक्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नभए नेपाल दूरसञ्चार प्राधिकरणमा धर्ना शुरु गर्ने सम्बन्धित व्यवसायीले बताएका छन् ।

सरकारले साउन १ गतेदेखि एमडीएमएस लागू गर्ने भनेर बजेट भाषणमा घोषणा गरे पनि प्राधिकरणले अहिलेसम्म लागू गर्न सकेको छैन । एमडीएमएस लागू नहुँदा ठूलो परिमाणमा भन्सार छलेका मोबाइल आयात भइरहेको व्यवसायीको गुनासो छ ।

नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले प्राधिकरणले एमडीएमएस लागू गर्न आनकानी गरिरहेको भन्दै छिट्टै लागू नभए व्यवसायको चाबी प्राधिकरणलाई बुझाएर धर्नामा बस्ने बताए ।

‘अब हाम्रो धैर्यको बाँध फुटिसक्यो,’ अग्रवालले भने, ‘अबको २–३ महिनामा यो नियाम लागू नभएमा प्राधिकरणमा चाबी बुझाएर धर्ना शुरु गर्छौं ।’

सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् साउन १ गतेदेखि नै एमडीएमएस लागू गर्ने बताएको थियो । प्राधिकरणले भने उक्त मितिमा एमडीएमएस लागू गर्न सकेन ।

सानो सफ्टवेयरका कारण अति महत्वपूर्ण विषय लागू हुन नसकेको बताए ।

आयातकर्ताहरुले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा भेट गरेर एमडीएमएस लागू गर्न आग्रह गरेका थिए । उक्त भेटमा मन्त्री शर्माले यही डिसेम्बर महिनाभरीमा यो नियम लागू गर्ने प्रतिवद्धता जनाएको अग्रवालले बताए ।

नेपालमा आयात हुने मोबाइल सेटमध्ये झन्डै ३० प्रतिशत अवैध बाटोबाट आइरहेको व्यवसायीको भनाइ छ । भारतको खुला सीमानाका कारण भन्सार छलेर ठूलो परिमाणमा त्यस्ता मोबाइल आयात भइरहका छन् । त्यस्तै, व्यक्तिगतरुपमा पनि विदेशबाट आयात हुने मोबाइलको संख्याधेरै छ ।

‘कुल आयात र व्यापारलाई हिसाब गर्ने हो भने सरकारलाई वार्षिक ४–५ अर्बको राजश्व घाटा भइरहेको छ,’ अग्रवालले भने, ‘यो राजश्वको मात्र कुरा होइन अन्य क्षेत्रलाई पनि प्रभाव पारेको छ ।’

अबैध मोबाइलका कारण अन्य आपराधिक घटनालाई पनि सहयोग पुगेको उनको भनाइ छ ।

कार्यक्रममा मोल्दै मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्राले अबको एक डेढ महिनामा एमडीएमएस लागू हुन्छ कि भन्ने आशा पलाएको बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमडीएमएस लागू गर्न दिर्नेशन दिइसकेको जानकारी गराए ।

‘मैले हिजोमात्रै डिसेम्बर महिनाभित्रमा लागू गर्न निर्देशन दिइसकेको छु,’ उनले भने ।

नेपालमा पछिल्लो दुई वर्ष मोबाइलको आयात उच्च भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३ सय ६६ सेट मोबाइल सेट आयात भएको थियो । जसमा सरकारले ५ अर्ब ८४ करोड ९ लाख रुपैयाँ भन्सार महशुल उठाएको थियो ।

उक्त आयात आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०३ प्रतिशतले बढी हो ।


क्लिकमान्डु