आयातमा राष्ट्र बैंकको कडाइ, एनआरएनले डलरमा खाता खोल्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भित्राउनको लागि आयातमा कडाइ गर्दै गैर आवासीय नेपाली(एनआरएन)ले डलरमा खाता खोल्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै कागजको आधारमा दिइने सुविधा(डिएपी) अन्तर्गत आयात गर्न सकिने सीमालाई १ लाख अमेरिकी डलरबाट ५० हजार अमेरिकी डलरमा झारेको छ ।

चाँदी आयातमा टिटी मार्फत ३५ हजार डलरको एक पटकमा मात्र गर्न सकिने व्यवस्था गरेको छ । चाँदी गरगहना बनाउन,हस्तकलाका सामाग्री बनाउनको लागि मात्र पाइने व्यवस्था राष्ट्र बैंकले गरेको। छ । बैंकहरुले सुनचाँदी व्यवसायीलाई बिक्री गर्नको लागि मात्र चाँदी आयात गर्न सक्नेछन् ।

यस्तै राष्ट्र बैंकले नेपालमा रहेका फर्म तथा कम्पनीलाई विदेशबाट ऋण ल्याउनको लागि नेपाली बैंक ग्यारेन्टी तथा पतितपत्र जारी गर्न सक्ने सुविधा दिएको छ ।

राष्ट्र बैंकले एनआरएनएनलाई अमेरिकी डलरमा नेपालमा बैंक खाता खोल्ने सुविधा दिएको छ । एनआरएनले न्यूनतम ५ हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । बैंकहरुले आफूसँग रहेको विदेशी मुद्राको डेरिभेटिव कारोबार गर्दा बक्यौता प्राथमिक पूँजीको १५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ ।


क्लिकमान्डु