नक्कली निक्षेप हरायो, २ महिनामा ४० अर्बले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत हस्तक्षेपसँगै नक्कली मुद्रामा रहेको निक्षेप घटेको छ ।

नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नु अगाडि वाणिज्य बैंकमा असोजको दोस्रोसातासम्म १ खर्ब ५८ अर्ब रुपैयाँसम्म विदेशी मुद्रामा निक्षेप पुगेको थियो ।

एउटा बैंकमा भएको निक्षेप अर्को बैंकमा राख्ने र अर्को बैंकले पुनः अर्को बैंकमा राखेर नभएको निक्षेप सिर्जना गरेर बैंकहरुले ऋण दिएका थिए । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा राखिने निक्षेपलाई सीडी गणना गर्न नदिने व्यवस्था गरेसँगै त्यसमा रहेको निक्षेप घट्दै गएको छ ।

२ महिनामा ४० अर्ब रुपैयाँले विदेशी मुद्रामा रहेको निक्षेप घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १० गतेसम्म आइपुग्दा विदेशी मुद्रामा रहेको निक्षेप १ खर्ब १८ अर्ब रुपैयाँमा आएको छ । ठूला बैंकहरुले नै निक्षेप बढाउनको लागि विदेशी मुद्रामा नक्कली निक्षेप राखेर ऋण बढाउने नीति लिन थालेपछि केन्द्रिय बैंकले हस्तक्षेप गरेको थियो ।

सीडी रेसियोलाई ९० प्रतिशतभन्दा तल राख्न बैंकहरुले यस्तो कदम चालेका थिए ।

मंसिर महिनाको पहिलो १० दिनमा बैंकहरुमा १४ अर्बले निक्षेप घटेको छ । कात्तिक मसान्तसम्म बैंकहरुमा ४२ खर्ब ३३ अर्ब निक्षेप रहेकोमा त्यो मंसिर १० मा आइपुग्दा ४२ खर्ब १९ अर्बमा झरेको छ । १० दिनमा ऋण २१ अर्बले बढेको छ । कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रहेको निक्षेप मंसिर १० सम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब पुगेको छ ।


क्लिकमान्डु