पेट्रोल कार चलाउँदा वार्षिक इन्धनमा डेढ लाखबढी खर्च, विद्युतीयमा ५ हजार भए पुग्ने



काठमाडौं । मानौं, सहरी क्षेत्रमा तपाईंको सवारी साधनले औसतमा १५ किलोमिटरको माइलेज दिन्छ ।

नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ पर्छ । जाम तथा भिडभाडमा यात्रा गर्दा पेट्रोलको बढी खपत हुन्छ ।

त्यसमाथि काठमाडौं उपत्यकाका सडकमा के कति जाम हुन्छ र के कति समय लाग्छ भन्ने कुराको तपाईं हामी आफै भुक्तभोगी छौं ।

यस आधारमा यदि तपाईंको कार दैनिक ५० किलोमिटर गुड्छ भने कूल ३.३३ लिटर पेट्रोल खपत हुन्छ । नेपाल आयल निगमले निर्धारण गरेको पेट्रोलको मूल्य अनुसार आजका दिनमा तपाईंको कारले दैनिक ४५३ रुपैयाँ बराबरको पेट्रोल खपत गर्छ ।

यसैलाई आधार मान्ने हो भने १ महिनामा ३० दिनमा ४५३ रुपैयाँको दरले १३ हजार ५८६ रुपैयाँको पेट्रोलमा मात्रै खर्च हुन्छ । यसमा पनि ४ दिन विदा मान्ने हो र ती दिनमा गाडी गुड्दैन भन्ने आधारमा हेर्दा २६ दिनमा तपाईंको सवारी साधनले ११ हजार ७७४ रुपैयाँको पेट्रोल खपत गर्छ ।

अब पेट्रोलमा मात्रै १ वर्षमा कति खर्च हुन्छ हेरौं । एक महिनामा १३ हजार ५८६ रुपैयाँका दरले १२ महिनामा अर्थात् १ वर्षमा तपाईंले १ लाख ६३ हजार ३६ रुपैयाँ बराबरको खर्च पेट्रोलमा खर्च गर्नुहुन्छ । लामो यात्रा गर्नुपर्यो भने त त्यसको हिसाब किताबनै बढी हुन जान्छ ।

अब विद्युतीय सवारी साधनको खर्च हेरौं ।

यदि तपाईं विद्युतीय कार चढ्नुहुन्छ भने पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा निकै सस्तो पर्न जान्छ ।

मानौं तपाईंले दैनिक ५० किलोमिटरनै सवारी साधन चलाउनुहुन्छ भने एक पटक फूल चार्ज गर्न ७ युनिट विद्युत् खपत हुन्छ । नेपाल विद्युत् प्राधिकरणले औसतमा प्रतियूनिट ६ रुपैयाँमा बिजुली उपलब्ध गराएको छ ।

विद्युतीय कार पूर्ण क्षमतामा चार्ज गर्नका लागि बढीमा ६ घण्टा समय लाग्छ । अधिकतम ७ युनिट बराबरको बिजुली खर्च हुन्छ । त्यो भनेको सिंगल चार्जमा ४२ रुपैयाँ खर्च हुन्छ ।

एकपटक चार्ज गर्दा ३ दिन चलाउन सकियो भने मासिक ४२० रुपैयाँ खर्च हुन्छ । यस्तै, २ दिनको मात्रै हिसाब गर्यौ भने १५ पटक चार्ज गर्नुपर्छ । त्यसमा कूल १०५ युनिट बराबरको बिजुली खर्च हुन्छ । त्यो भनेको आजको मूल्यमा ६३० रुपैयाँ हो ।

नेपालमा अधिकांश भारतीय कम्पनीका विद्युतीय सवारी सञ्चालनमा छन् । त्यस आधारमा ४२० रुपैयाँको हिसाबले वर्षदिनभरीमा ५ हजार ४० रुपैयाँ खर्च हुन्छ । कूल २ दिनको हिसाब गर्ने हो भने वर्षदिनमा ७५६० रुपैयाँ खर्च हुन्छ ।

विद्युतीय कार र पेट्रोल कारको हिसाब हेरौं ।

वर्षदिनमा पेट्रोल कारका लागि १ लाख ६३ हजार ३६ रुपैयाँ खर्च हुन्छ भने विद्युतीय कारका लागि ५ हजार ४० रुपैयाँ खर्च गरे पुग्छ । पेट्रोल कारको तुलनामा १ वर्षमा १ लाख ५७ हजार ९९६ बराबरको बचत हुन जान्छ ।

तपाईंले यो हिसाब हेरेपछि पेट्रोल कारलाई विद्युतीय कारका परिणत गर्न सकिन्छ होला त ? भन्ने जिज्ञासा उत्पन्न भयो होला । हो, सहजै पेट्रोल कारलाई विद्युतीय सवारीमा परिणत गर्न सकिन्छ । आजको मूल्यमा हिसाब गर्दा बढीमा ५ लाख रुपैयाँ खर्च गर्ने हो भने सहजै रुपमा पेट्रोल कारलाई विद्युतीय बनाउन सकिन्छ ।

कानूनको उल्झन
प्रविधिले पेट्रोल कारलाई विद्युतीय बनाउन सक्ने भएपनि नेपालमा कानूनको अभाव छ ।

विद्यमान कानून अनुसार कुने पनि सवारी साधनको पाटपूर्जा परिवर्तन गर्न, अर्को आकार दिन पाइदैन । यो सरासर गैरकानूनी काम हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सवारीको विद्यमान स्वरुपलाई परिवर्तन गर्न पाइदैन । त्यससम्बन्धी कानून निर्माण गर्ने विषयमा हालसम्म कुनै तयारी पनि भएको छैन ।

यातायात व्यवस्था विभागका अधिकारीले त अनुमति नलिई कुनै पनि सवारी साधनको पाटपूर्जा परिवर्तन गरिए त्यो कानूनको भागीदार हुने बताउने गरेको छ । कानून तयारीका बारेमा प्रारम्भिक तहमा छलफल भएपनि हालसम्म कुनै निर्णय नभएको विभागका अधिकारी बताउँछन् ।

यदि कानून हुने हो भने पेट्रोल कारलाई विद्युतीय बनाउँदा लागेको खर्च उठाउन बढीमा ३ वर्ष २ महिनामै उठाउन सकिन्छ । एकातिर वातावरणीय रुपमा पनि राम्रो अर्को खर्च पनि कम हुने भएकाले सहजैरुपमा नागरिक उसतर्फ आकर्षित हुन सक्छन् । तर, कानूनको अभावमा कुनै पनि सवारी साधनको पाटपूर्जा नै परिणत गर्न उपभोक्ताले चाहेका छैनन् ।

विद्युतीय कारको खर्च प्रतिकिलोमिटर ३० पैसा बराबर मात्रै लाग्छ । पेट्रोल तथा डिजल कारको विद्युतीय बनाउनका लागि भारतका त्यस्ता कम्पनीले ५ वर्षको वारेन्टी समेत दिएको छ । कारमा प्रयोग भएको किटमा कुनै थप खर्च लाग्दैन । केवल ५ वर्षमा ब्याट्री मात्रै परिवर्तन गर्नुपर्छ ।

पेट्रोल तथा डिजल कारमा वार्षिक सर्भिसिङ खर्च पनि हुन्छ । मोबिल, इञ्जिन आयल, टायरमा खर्च हुन्छ । सरकारले कानूनी प्रबन्ध गर्ने हो भने सहजै रुपमा पेट्रोल कारलाई विद्युतीय बनाउन सकिन्छ ।

भारतमा शुरु भयो काम
भारतको दिल्ली सरकारले पेट्रोल वा डिजल कारलाई विद्युतीय बनाउनका लागि अनुमति दिएको छ । दिल्ली सरकारले १० वर्ष पूराना गाडीलाई पनि विद्युतीयमा परिवर्तन गर्नका लागि मार्ग प्रशस्त गरिदिएको छ ।

गाडी बिक्री गर्ने वा कवाडीमा समेत बिक्री गर्नु नपर्ने भएको छ । डिजल वा पेट्रोल कारलाई विद्युतीय बनाउँदा लाग्ने खर्चको केही प्रतिशत रकम अनुदान दिने व्यवस्था समेत गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै ३८ लाख वटा पूराना गाडी छन् । त्यसमा ३५ लाख पेट्रोल र ३ लाख डिजल गाडी छन् । भारतको नेशनल ग्रीन ट्रिब्यूनल र सर्वोच्च अदालतले एक आदेश दिँदै सडकमा चलिरहेका १० वर्ष पूराना डिजल गाडी र १५ वर्ष पूरा पेट्रोल गाडीलाई विद्युतीय बनाउन भनेको छ ।

भारतको हैदरावादमा पेट्रोल वा डिजल गाडीलाई विद्युतीय बनाउने धेरै कम्पनी रहेका छन् ।

त्यसमा इट्रायो र नर्थवेएमएस प्रमुख छन् । यी दुई कम्पनीले कुनै पनि प्रकारको पेट्रोल वा डिजल कारलाई विद्युतीयमा परिवर्तन गरिदिन्छन् ।

पाईसँग वैगरआर, अल्टो, डिजायर, आइ १०, स्पार्क वा दोस्रो कुनै पेट्रोल वा डिजल कार छन् भने पनि त्यसलाई विद्युतीय बनाउन सक्नुहुन्छ । रेञ्ज वा पावर बढाउनका लागि ब्याट्री र मोटरमा फरक आउन पनि सक्छ ।

के कति लाग्छ खर्च ?
कुनै पनि नर्मल कारलाई विद्युतीय बनाउनका लागि मोटर, कन्ट्रोलर, रोलर र ब्याट्रीको प्रयोग गरिन्छ । कारमा हुने खर्च यसैमा निर्भर रहन्छ । कति किलोवाट क्षमताको ब्याट्री राख्ने र कुन खालको मोटर राख्ने भन्ने कुराले खर्चको निर्धारण हुन्छ ।

जस्तै करिब २० किलोवाटको विद्युतीय मोटर र १२ किलोवाटको लिथियम आयन ब्याट्रीका खर्च ५ लाखसम्म हुन जान्छ । यस्तै ११ किलोवाटको ब्याट्री राखियो भने त्यसको खर्च ५ लाख ७० हजारसम्म हुन जान्छ ।

कारको रेञ्ज पनि सोही कुरामा निर्भर हुन्छ । कति किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ, त्यस आधारमा खर्चको हिसाब निस्कन्छ । जस्तै १२ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखियो भने फूल चार्ज हुँदा करिब ७० किलोमिटरको रेञ्ज दिन्छ । २२ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखियो भने रेञ्ज बढेर १५० किलोमिटरसम्म हुन जान्छ । मोटर बढी शक्तिशाली भएको खण्डमा कारको रेञ्ज कम हुन जान्छ ।

कसरी परिवर्तन हुन्छ ?
जानकारहरुका अनुसार कुनै पनि इन्धन सवारीलाई विद्युतीयमा परिवर्तन गर्दा सबै मेकानिकल पार्ट परिवर्तन गरिन्छ ।

कारको इञ्जिन, इन्धन ट्यांकी, शक्ति उत्पन्न गर्ने केवललगायत सबै पार्टसको कनेक्सन नै परिवर्तन गरिन्छ । ती सबै पार्टको विद्युतीय पार्ट जस्तै मोटर, कन्टोलर, रोलर, ब्याट्री र चार्जरको परिवर्तन गरिन्छ ।

सो कामका लागि न्यूनतम ७ दिन बराबरको समय लाग्न सक्छ । सबै पार्ट कारको बोनटको नजिकै फिक्स गरिन्छ । त्यही ब्याट्रीको लेयर कारको चेसिसमा फिक्स गरिन्छ । बूट स्पेस पूरै खाली राखिन्छ । यस्तै, इन्धन ट्यांकी हटाएर त्यसको क्यापमा चार्जिङ प्वाइन्ट राखिन्छ ।

कारको मोडलमा कुनै पनि परिवर्तन गरिदैन ।


क्लिकमान्डु