खेलाडीले १ करोड नगद पुरस्कार पाउँदा सरकारले कर लिएन
काठमाडौं । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुरूप अन्तर्राष्ट्रिय सफलता पाएका तीन खेलका कुल २८ खेलाडीले नगद पुरस्कार पाएका छन् ।
अन्तर्राष्ट्रिय सफलता पाएसँगै नेपाली खेलाडीले पुरस्कार पाउने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची–४ को बुँदा– १४ मा स्पष्ट उल्लेख गरिएको छ । सोहीअनुरूप सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै महिला फुटबल, कराते र बिच भलिबलमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
खेल संघले पुरस्कारका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा खेलाडीले पुरस्कार पाउने गरेका छन् ।
सरकारले साफ महिला फुटबल च्याम्पियनसिपमा रजत विजेता, १९ औं एशियाली खेलकुदमा पदक विजेता र काभा बिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेता कुल २८ खेलाडी, प्रशिक्षक र व्यवस्थापकले कुल १ करोड १ लाख ४० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।
सबै खेलाडीलाई कर कट्टा नगरी पुरस्कार प्रदान गरेको राखेपले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई पुरस्कृत गरे ।
सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र राष्ट्रिय खेल संघका पदाधिकारी उपस्थित थिए ।
गत कात्तिक १४ गतेसम्म काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोली रजत पदकमा सिमित भएको थियो । सोही साफमा रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीले कुल ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार पाए । खेलाडीले जनही ३ लाख र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई लाख पुरस्कार पाएका हुन् ।
उक्त टोलीमा कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर र अमिशा कार्की थिए ।
त्यस्तै टोलीको गोलकिपरद्वय उषा नाथ र अञ्जना राना मगर, अन्य सदस्य विमला विक, समीक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, निशा थोकर, सजनी ठोकर, दीपा शाही, सावित्रा भण्डारी र मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् ।
सहायक प्रशिक्षक भगवती थापा र गोलकिपर प्रशिक्षक विनोद महर्जनले समान ६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिष्ट नविना श्रेष्ठले समान एक लाख २० हजार नगद पुरस्कार प्राप्त गरे । उक्त कार्यक्रममा कप्तान एन्जिला, पूजा, अमिशा, समीक्षा, रेखा, सजनी र सावित्रा उपस्थित थिएनन् ।
एञ्जिला, सावित्रा र रेखा विदेशी लिगमा खेलिरहेका छन् ।
सोही कार्यक्रममा गत असोजमा चीनको हाङझाउमा सम्पन्न २० औं एशियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता एरिका गुरुङले भने ६ लाख रुपैयाँ पाइन् । प्रशिक्षक कुशल श्रेष्ठ एक लाख ८० हजार नगद पुरस्कृत भए ।
एशियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी थिइन् । नेपालको महिला र पुरुष बिच भलिबल टोलीले गत साउनमा भुटानको थिम्पुमा सम्पन्न काभा बिच प्रतियोगितामा समान एक स्वर्ण र रजत पदक जितेका थिए । उक्त टोली चार खेलाडी र एक प्रशिक्षक गरी पाँच जनालाई कुल १९ लाख नगद पुरस्कार प्रदान गरिएको हो ।
स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनिषाकुमारी चौधरीले जनही पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।
रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान तीन लाख नगद पुरस्कार पाए । मान र दिलको पनि कार्यक्रममा उपस्थित थिएन । दुवै टोलीका मुख्य प्रशिक्षक रूपेशकुमार विष्टले तीन लाख नगद पुरस्कार पाए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार खेलाडीलाई थप प्रोत्साहन गर्न महत्वपूर्ण रहेको र हाल खेलाडीले पाउने पुरस्कारमा कानूनी रूपले नै सुनिश्चित हुनु सुखद् पक्ष रहेको बताए । उनले खेलाडीले पाएका पुरस्कारमा कर छुट हुँदा थप खुशी प्राप्त भएको उल्लेख गर्दै खेलाडीले पाएको पुरस्कारलाई आकास्मिक लाभको रूपमा राख्न नहुने बताएका छन् ।
सदस्य सचिव घिसिङले खेलाडीले पाउने सफलता आकस्मिक लाभ नभएको र वर्षौंदेखि उनीहरूको मेहनतबाट प्राप्त हुने गरेकाले त्यसका लागि पाउने पुरस्कारलाई आकास्मिक लाभका रूपमा हेर्न नहुने उल्लेख गरे । घिसिङले हाल नेपाली खेलाडीले मिसन २०२६ को तयारी गरिरहेकाले यो पुरस्कारले थप हौसला प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।