हेलो नेपालको लाइसेन्स खारेज



काठमाडौं । व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र सरकारले खारेज गरेको छ। हेलो नेपालले बक्यौता रकम भुक्तानी नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो ।

असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो ।

कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषदबाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले पुनः अनुमतिपत्र खारेजीको निर्णय गर्न नसक्ने स्पष्टीकरण पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

हेलो नेपालले चित्तबुझ्दो जवाफ नदिएपछि २०७६ को पुसमा मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा शुक्रबारदेखि नै लागु हुने गरी अनुमतिपत्र खारेजी गरेको हो ।

हेलो नेपालले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत बक्यौता रकम भुक्तानी गर्न बाँकी नै छ ।


क्लिकमान्डु