फूल चार्जमा ३०० किलोमिटर गुड्ने इलेक्ट्रिक पिकअप नेपालमा, मूल्य कति ?



काठमाडौं । नेपालमा ३०० किलोमिटरसम्म दूरी पार गर्न सक्ने पहिलो इलेक्ट्रिक पिकअप सार्वजनिक भएको छ ।

दिगो विकास र शुन्य कार्बन उत्सर्जन प्रदान गर्नका निम्ति ‘इलेक्ट्रिफाई योअर एडभेन्चर’ भन्ने नाराका साथ दिगोले नेपालमा जेएसी मोर्टसको यो जेएसी ई–टीएट नामक पिकअप नेपाली बजारमा ल्याएको हो ।

इलेक्ट्रिक सवारी व्यापारको माध्यम मात्र नभइ सम्पूर्ण देशको दिगो विकासमा सहयोग गर्ने माध्यम रहेको दिगोका कार्यकारी निर्देशक सौरभ श्रेष्ठले बताए ।

कम्पनीका विजनेस डेभलपमेन्ट म्यानेजर मुकुन्द विक्रम शाहका अनुसार यो पिकअप नेपालको अफरोड होस् वा लामो दूरी तय गर्न होस् यसले राम्रो माइलेज दिने र शुन्य कार्बनरहित रहेको बताएका छन् ।

‘यसको राम्रो पक्ष भनेको २ घण्टामा फूल चार्ज हुन्छ । त्यसका लागि भने विद्युत् जम्मा ७० युनिट खपत हुन्छ,’ शाहले भने, ‘हामीले भविश्यमा फास्ट चार्जिङ्को पनि विकल्प राखेका छौं ।’

आगामी पुस्ताका लागि समेत वातारण जोगाइराख्न इन्धन खपतका कारण व्यहोरेको व्यापार घाटालाई न्यून बनाउन सहयोग गर्ने लक्ष्य राखिएको शाहले बताए ।

यो पिकअप भने एसी चार्ज गर्न १४ देखि १६ घण्टा लाग्ने दिगोले बताएको छ ।

‘अहिलेको अवस्थामा हरेक कार वा पिकअपमा एसीको सुविधा चाहन्छन्,’ शाहले भने ।

नेपाल विद्युत प्राधिकरण विद्युत् चुवाहट महाशाखाका प्रमुख श्रीराम पोखरेलले यस्ता इलेक्ट्रिक सवारीले नेपालको विद्युत् खपत र शुन्य कार्बन उत्सर्जनमा भरपुर सहयोग पूर्याउने बताए ।

‘यस्ता सवारी चलाउदा खर्च कम लाग्नुका साथै नेपालको दिगो विकासमा समेत सहयोग पुर्र्याउने छ, उनले भने ।

‘यो पिकअपमा एक चोटी चार्ज गर्दा जम्मा ७० युनिट विद्युत् खपत हुने रहेछ । त्यसका लागि खर्च जम्मा भनेको ३५० देखि ४०० सम्म हुन्छ,’ पोखरेलले भने, ‘तर हाम्रोमा रहेको समस्या भनेको चार्जिङ्ग स्टेसनको हो । त्यो पनि छिटै समाधान हुन्छ ।’

पोखरेलका अनुसार चार्जिङ्ग स्टेसनका लागि निजी
क्षेत्रसँग सहकार्य गर्ने गरी ठेक्का आवहान गरिएको छ ।

‘चार्जिङ्ग स्टेसनका लागि ट्रान्समिटर र विद्युतको लाइन पुर्याउने काम पनि विद्युत् प्राधिकरणको दायित्व हो,’ उनले भने ।

दिगो कम्पनीका विजनेस डेभलपमेन्ट म्यानेजर शाहले पनि विद्युत् प्राधिकरणसँग ५० वटा चार्जिङ् स्टेसनका लागि चिनियाँ टोलीबीच सम्झौता भएको बताए ।

यो पिकअपका लागि आफ्नै घरमा चार्ज गर्छु भन्ने चाहनेका लागि घरमै ३२ एम्पियरको एमसीबी राखी चार्ज गर्न सकिने म्यानेजर शाहले बताए ।

यो पिकअप आम युवा पुस्ताका लागि भनेर डिजाइन गरिएको छ । यो नेपाली बजारमा अर्को वर्षको वैशाखसम्म फुल फेजमा नेपाल भित्राउने दिगोका संस्थापक श्रेष्ठले बताए ।

यो पिकअपमा लिथियमको आइरन ब्याट्री राखिएको छ । यसको क्षमता ६७.२ किलोवाटको रहेको छ । यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा छ ।

ब्याट्री डिसी चार्जिङ्बाट फूल चार्ज गर्न २ घण्टा लाग्छ भने फूल चार्ज गरेपछि ३०० किलोमिटर दूरी सजिलैसँग पार गर्न सकिन्छ ।

यो पिकअपलाई छिरिङ्ग तामाङले पहिलो बुकिङ गरेका छन् ।

नेपाली बजारमा यो पिकअपको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु