कोरोनापछि ८७.२% उद्योग व्यवसाय पूर्ण सञ्चालनमा, उत्पादन ७४.७% पुग्यो



काठमाडौ । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार कात्तिक दोस्रो सातासम्म आइपुग्दा २०७७ असारको तुलनामा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।

सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएको देखाएको छ । कोरोनापूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन र कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको छ ।

बन्दाबन्दी पश्चात औसतमा ६१ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखाएको थियो ।

यसैगरी २०७७ मंसिरमा प्रथम र २०७८ बैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ बैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरेको छ ।

कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्न गयो । नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरु अवलम्वन गरेकाे थियाे ।

कोभिड-१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो । २०७७ सालको उत्तरार्धबाट पुनर्उत्थानउन्मुख रहेको अर्थतन्त्र २०७८ वैशाखको तेस्रो साताबाट शुरु भएको महामारीको दोस्रो चरणको रोकथामका लागि गरिएको विविध उपायहरुबाट पुनः प्रभावित भएका थिए ।

कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो


क्लिकमान्डु