एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ ।
कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका छन् । विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर-एनजीओ) विधा अन्तर्गत जितेको हो ।

त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको थियो ।

कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागु गरी सकिएको छ । यस कार्यक्रम अन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।


क्लिकमान्डु