एनबी बैंकको बंगलादेशी लगानीकर्ताको समूह राष्ट्र बैंकको राय बुझेर फर्कियो, सेयर बिक्रीबारे निर्णय छिट्टै



काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी रहेको आइएफआईसी बैंकको टोली राष्ट्र बैंकको राय बुझेर फर्केको छ ।

एनबी बैंकमा अहिले बंगलादेशको आइएफआईसी बैंकको तर्फबाट ३ जना सञ्चालक छन् । बैंकको साधारणसभाले आइएफआईसी बैंकबाट प्रतिनिधित्व गर्ने एआरएमनजमुस शकिबलाई अध्यक्षमा चुनेको थियो ।

अध्यक्षमा चुनिएपछि राष्ट्र बैंकको नियमअनुसार सपथ लिनका लागि शकिब नेपाल आएका थिए । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सपथ लिनुका साथै गभर्नरसहित उच्च अधिकारीहरुसँग मर्जर तथा सेयर बिक्रीको बारेमा राय मागेका थिए ।

आइएफआईसीले एनबी बैंकमा रहेको झन्डै ४१ प्रतिशत सेयर हिस्सा बेचेर बाहिरिने निर्णय गरेको छ । नियमअनुसार बैंकका सेयरधनीलाई शुरुमा सेयर बिक्रीको सूचना जारी भएको थियो । जसमा बैंकको संस्थापक प्रवद्र्धकसमेत रहेको एनबी समूहले सेयर किन्नका लागि आवेदन दिएको थियो । तर, राष्ट्र बैंकको ‘फिट एण्ड प्रोपर टेस्ट’मा एनबी समूह अयोग्य भएको थियो ।

एनबी बैंक स्रोतका अनसार बंगलादेशी लगानीकर्ताले राष्ट्र बैंकका उच्च अधिकारीसँग कस्तो समूहलाई सेयर बिक्री गर्दा हुने हो त्यसको राय मागेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुले राम्रोसँग बैंक चलाइरहेको समूहलाई सेयर बिक्री गर्दा राम्रो हुने सुझाव दिएका छन् ।
‘हामीले बैंकको संख्या घटाउन खोजेका हौं, त्यसैले तपाईंहरुले बैंक चलाईरहेको समूहलाई नै सेयर बेच्नुभयो भने राम्रो हुन्छ,’ राष्ट्र बैंकका अधिकारीहरुको सुझाव छ ।

एनबी बैंकमा रहेको बंगालीको सेयर किन्न नविल बैंक चलाइरहेको चौधरी ग्रुप, सनराइज बैंक चलाईरहेको दुगड ग्रुप र अहिलेसम्म बैंकिङमा लगानी नभएको शंकर ग्रुपले विषेश चासो देखाएका छन् ।

एनबी बैंकमा रहेको आइएफआईसीको स्वामित्वमा रहेको सेयर किन्न अर्बपति व्यवसायी बिनोद चौधरीको चासो सबैभन्दा बलियो छ । एनबी बैंकका बंगलादेशी लगानीकर्ता बाहिरिने भएपछि अन्य लगानीकर्ता र उच्च व्यवस्थापनले नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्दा राम्रो हुने राय दिएका छन् ।

नबिल बैंकको उच्च व्यवस्थापनले प्रमुख लगानीकर्ता बिनोद चौधरीलाई एनबी बैंक एक्विजेशनको लागि इच्छुकसमेत रहेको र व्यवसाय तथा लाभांशको लागि एक्विजेशन गर्नुपर्ने सुझाव दिए । केही दिन अगाडि नबिलका सीइओ अनिल शाहले यो वर्ष दिएजस्तो लाभांश दिन बैंकलाई चुनौती हुने बताएका थिए ।

एनबी बैंकका सेयरधनीले आइएफआइसीको सेयर किन्न नसक्ने भएपछि बंगलादेशी लगानीकर्ताले अब आफूले चाहेको समूहसँग डिल गर्न सक्ने बाटो खुलेको छ ।

एनबी बैंकको सेयर किन्नका लागि चौधरी समूह बाहेक नेपालका प्रमुख व्यवसायिक घरानाहरु शंकर ग्रुप तथा सनराइज बैंकको लगानीकर्ता रहेको टिएमटी दुगड ग्रुपले चासो दिएको छ । जसमा प्रमुख चासो चौधरी ग्रुप र शंकर ग्रुपको छ । शंकर ग्रुपको अहिले बैंक तथा वित्तीय संस्थामा प्रमुख लगानी रहेको छैन ।

सेयर स्वामित्व किन्न इच्छुकले बंगालीलाई भेट्ने प्रस्ताव पनि गरेका थिए । तर, अहिले आफूहरु राष्ट्र बैंकको रायमात्रै बुझ्न आएको बताउँदै इच्छुक समूहलाई भेट्न नमानेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘इच्छुकहरुले भेट्ने प्रस्ताव पनि गर्नुभएको थियो तर उहाँहरुले अहिले आफूहरु राष्ट्र बैंकको राय बुझ्न मात्रै आएको र केही दिनमा निर्णय दिन्छौं भन्नु भएको छ,’ ढुंगानाले भने, ‘अर्को हप्तासम्ममा कंक्रिट कुरा आउला ।’

बंगलादेशी लगानीकर्ताहरु मर्जरमा जानभन्दा सेयर बेचेर बाहिरिने रणनीतिमा रहेको ढुंगानाले जानकारी दिए । एनबी बैंकमा रहेको बंगालीको करिब ४१ प्रतिशत सेयर किन्न ६ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्य पर्छ ।


क्लिकमान्डु