एमाले महाधिवेशनको बजेटः ७ करोड ५० लाख



काठमाडौं । नेकपा एमालेको चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने १०औं महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार उक्त रकम खर्च लाग्ने अनुमान गरिएको छ ।

उनका अुनसार ८औं महाधिवेशनमा करिब २ करोड २५ लाख रुपैयाँ खर्च लागेको थियो भने नवौं महाधिवेशनमा ४ करोड २५ लाख खर्च भएको थियो ।

विधान महाधिवेशनमा आवासको व्यवस्था नगर्दा करीब ६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थिति हुँदा करिब ५ करोड खर्च भएको थियो । त्यसलाई आधार मान्दा करिब ७ करोड ५० लाख रुपैयाँ खर्च हुने उनको आँकलन छ ।

उनका अनुसार महाधिवेशनको लागि पार्टीका प्रत्येक सदस्यलाई न्यूनतम १ सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान भएको छ ।
सहयोग गर्न चाहनेले १ रुपैयाँदेखि नै सहयोग गरिरहेका छन् ।

रिमालका अनुसार पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको संख्या ८ लाख ५५ हजार ४ सय ५३ रहेको छ । यी सदस्यले न्यूनतम १ सय रुपैयाँ मात्रै सहयोग गरे भने यो परिणाम ठूलो हुने उनको भनाइ छ ।

त्यसबाट महाधिवेशन खर्चको व्यवस्थापन गर्ने रिमालको भनाइ छ । यसले पारदर्शितालई पनि टेवा पुग्ने अपेक्षा रहेको रिमालले बताए ।

‘हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौ’ रसिद छापेका छैनौं’ उनले भने ‘यो प्रयोग हामीले नयाँ गरिरहेका छौं ।’

महाधिवेशनको बन्दसत्रका लागि चितवनको सौराहाको सेभेन स्टार होटलमा व्यवस्थापन गरिएको छ । उक्त होटलमा करिब १ हजारदेखि १२ सयसम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ । थप प्रतिनिधिका लागि व्यवस्थापन गर्नुपर्ने हुन्छ । जसमा २ हजारदेखि २५ सय जति प्रतिनिधिको आंकलन रहेको छ ।

प्रतिनिधिका लागि आवास र साँझ/बिहान खानाका लागि सौराहाका विभिन्न होटलमा ३५ सय जति बेडका लागि सम्झौता गरिसकेका छौं । उद्घाटनको भोलिपल्टदेखि दिउँसो खानाका लागि सामूहिक व्यवस्था गरिएको छ ।


क्लिकमान्डु