अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिँदै श्रम कार्यालय ताहचल



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार कार्यालय ताहचले अबदेखि अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने भएको छ ।

सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था थियो । तर, अबदेखि अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएको श्रम मन्त्रालयको भनाइ छ ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले गत मंसिर १ गते वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिएका थिए ।

उक्त दिन मन्त्रीले सेवाग्राहीको समस्या र गुनासाहरू सुनेर मन्त्री श्रेष्ठले तत्काल समाधानका लागि कर्मचारीलाई निर्देशन दिएका थिए ।

सोहीअनुसार तहाचलमा विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको छ मन्त्रालयले जनाएको छ । सो व्यवस्थाबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

त्यसैगरी, ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएका र श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकोले आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विभिन्न प्रयासहरूले प्रक्रियागत काम सरल र व्यवस्थित हुनुका साथै ठगी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।


क्लिकमान्डु