साउदी अरेबियाले ल्याएको श्रम कानूनबारे श्रममन्त्रीको चासो



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ । सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्दै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रकृयामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदुत अल मार्वानीसँग आग्रह गरे ।

त्यस्तै, मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परिक्षण परियोजना कार्यन्वयनका लागि राजदुतमार्फत् साउदी अरेबिया सरकारसमक्ष आग्रह गरेका छन् ।

नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ती साउदी अरेबियामा रहेका छन् ।

‘साउदी अरेवियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको छ । साथै, निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरू काम गर्न इच्छुक रहेको छ,’ मन्त्री श्रेष्ठले भने ।

राजदुत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्वोधन गर्ने उनले जानकारी दिए ।


क्लिकमान्डु