सवा ३ लाखबढी ग्राहकको डिजिटल भुक्तानीको जिम्मा लिन ११ कम्पनी प्रतिष्पर्धामा



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आफ्ना खानेपानी उपभोक्ताको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्ने भन्दै खुल्ला प्रतिष्पर्धाबाट डिजिटल सेवा प्रदायक छनोट गर्न आशय पत्र माग गरेको छ ।

डिजिटल भुक्तानी सेवा प्रदायक छनोटको लागि कात्तिक १२ गते १५ दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको हो । उक्त समयमा ११ वटा कम्पनीले आवेदन हालेको केयुकेयलले जनाएको छ ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले ११ वटा डिजिटल सेवा प्रदायकले आसयपत्र हालेका छन् । आवेदन हाल्नेमा मोबाइल वालेट र बैंक छन् ।

राईका अनुसार इसेवा, आइएमई पे, आईक्यास, एनएमबी, पे नेपाल, सजिलो पे, हिमालयन बैंकलगायतका छन् ।

हाल केयुकेएलका ३ लाख ३६ हजार ग्राहक छन् । छनोट हुने कम्पनीले यी ग्राहकको बिल भुक्तानी डिजिटल बनाउनु पर्नेछ ।

अहिलेसम्म केयुकेएलले आफ्ना ग्राहकलाई डिजिटल सेवा दिन सकेको छैन । बिल तिर्न प्रत्येक महिना काउन्टरमै पुग्नुपर्छ । केयुकेएलका उपत्यकाभर १० वटा शाखा कार्यालय छन् ।

१४ वर्षदेखि सञ्चालनमा रहेको केयुकेएलले आफ्नो सिस्टमलाई अनलाइन भुक्तानीमा लैजान नसक्दा काठमाडौंका लाखौं ग्राहकले अझै पनि लाइनमा बस्न बाध्य छन् ।

अहिलेसम्म प्राविधिकरुपमा सम्भव नभएकाले डिजिटल भुक्तानीमा जान नसकिएको राईको भनाइ छ ।

‘ग्राहकलाई डिजिट भुक्तानीको सेवा दिन नसक्नुमा प्राविधिक समस्या भएर हो,’ क्लिकमाण्डूसँग कुरा गर्दै राईले भने, ‘हामीले सिस्टमलाई अग्रेड गर्दै यो सुविधा दिनेछौं ।’

केयुकेएल डिजिटल भुक्तानीमा जान नसक्नुको प्रमखु कारण यसले प्रयोग गरिरहेको बिलिङ प्रणाली हो ।

अहिले जुन सफ्वेयर प्रयोग गरेर ग्राहकको बिल काटिररहेको छ, त्यसमा डिजिटल भुक्तानीमा जाने धेरै बाधाहरु रहेको केयुकेएलकै कर्मचारी बताउँछन् ।

डिजिटल भुक्तानी सेवा शुरु भएपछि काउन्टरबाट बिल तिर्न सकिने सुविधा पनि रहने प्रवक्ता राईले बताए । उनका अनुसार काउन्टर पेमेन्ट र अनलाइन पेमेन्ट दुई सुविधा हुनेछ ।

आवश्यक प्रक्रिया पूरा गरेर सकेसम्म छिटो डिजिटल भुक्तानी सेवा शुरु गर्ने उनले बताए ।


क्लिकमान्डु