कात्तिकमा कोभिडपछिकै कम घरजग्गा कारोबार, साढे ५ अर्ब राजश्व संकलन



काठमाडौं । कात्तिक महिनामा कोभिडपछिकै कम घरजग्गा कारोबार भएको छ । औसतमा मासिक ६० हजारभन्दा बढीको हाराहारीका घरजग्गा कारोबार हुँदै आएकोमा कोभिडपश्चात हालसम्मकै कम कारोबार भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कमा कात्तिकमा कोभिडपछिकै कम कारोबार भएको उल्लेख छ ।

गत आर्थिक वर्षको शुरुवातीमा कोभिडको निकै असर थियो । लकडाउन र निषेधाज्ञा बिस्तारै सहज हुँदै गएको अवस्थासमेत साउनमा ३७ हजार घरजग्गा किनबेच भएको थियो भने भदौमा ५५ हजार बढी घरजग्गा किनबेच भएको थियो ।

उक्त कारोबार संख्या भने गत वर्षकै कम कारोबार भएको तथ्याङ्क हो । त्यस्तै, कोरोनाको संक्रमण बढ्दै गएकाले बीचमा सरकारले निषेधाज्ञा लागू गरेको अवस्थाका सेवा प्रवाह हुन नसक्दा घरजग्गा कारोबारमा असर परेको थियो । तर, पूर्णरुपमा सेवा प्रवाह हुँदा उच्च कारोबारसँगै राजश्व संकलन पनि उच्च हुँदै आएको विभागको रेकर्ड छ ।

आर्थिक वर्ष २०७७÷७८ को शुरुवातीको महिनाबाटै उच्चरुपमा कारोबार हुँदै आएको घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गर्दै आएका थिए । त्यसमा देशभरका मालपोत कार्यालयबाट मासिक ७ अर्ब बढी राजश्व संकलन गर्दै आएका थिए ।

असोज महिनामा चाडपर्वको समय भएतापनि करिब ६० हजार घरजग्गाको किनबेच भई ७ अर्ब राजश्व संकलन गरेको थियो । कात्तिक महिनामा पनि दशैं र तिहारका कारणले पनि कारोबार घटेको हो ।

कात्तिकमा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट १ लाख ३४ हजार ५ सय ४९ सेवा प्रवाह भएकोमा ५० हजार मात्रै घरजग्गा किनेबेच भएको छ ।

कात्तिकमा देशभरका मालपोत कार्यालयबाट ५० हजार घरजग्गा लिखित पारित हुँदा ३३ सय २८ नामसारी, ३३ सय ३८ संशोधन, ३६ हाजरा ६सय २३ रोक्का, २३ हजार ५ सय ७२ फुकुवा र १ हजार ९७ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले कारोबार घट्नुको मुख्य कारण चाडपर्व रहेको बताए ।

कात्तिकमा दशैं, तिहार र छठको विदा धेरै भएकाले सेवा प्रवाह कम हुन गई कारोबार घटेको उनी बताउँछन् । त्यस्तै, कात्तिक महिनामा अन्य महिनाको तुलनामा कम कारोबार हुने प्रवृत्ति रहि आएको उनको बुझाइ छ ।

‘कात्तिकमा बढी चाडपर्व हुन्छ । साथै, दशैं र तिहारको बीचमा घरजग्गा कम कारोबार हुन्छ,’ उनले भने ।

कात्तिकमा सबैभन्दा बढी इनरुवा सुनसरी मालपोत कार्यालयबाट बढी किनबेच भएको छ । सो मालपोत कार्यालयबाट साढे ४ हजार हुँदा २ हजार १९ घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, कात्तिकमा बेलाबारी मोरङबाट १९ सय ४४, जनकपुरधाम धनुषाबाट १७ सय ८१, भद्रपुर झापाबाट १७ सय ५५, नेपालगञ्ज बाँकेबाट १६ सय ६१, भक्तपुरबाट १६ सय २०, लगनखेलबाट १५ सय ७७, कलंकीबाट १२ सय ८० र चितवनबाट १२ सय ७८ स्थानको घरजग्गा किनबेच भएको छ ।

लगनखेलबाट २ हजार ९३, भक्तपुरबाट २ हजार ५ र नेपालगञ्जबाट १७ सय ९५ घरजग्गा किनबेच भएको छ ।

साढे ५ अर्ब राजश्व संकलन
हरेक महिना ७ अर्बभन्दा बढी राजश्व संकलन गर्दै आएका विभागले कात्तिकमा कारोबार कम हुँदा रावश्वमा असर परेको छ ।

विभागकाअनुसार कार्तिक महिनामा साढे ५ अर्ब राजश्व संकलन गरेको छ । विभागले कार्तिक महिनामा ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यसअघि विभागले मंसिर महिनामा सो रकम बराबरको राजश्व संकलन गरेको थियो ।

विभागले सेवा करवापत २८ करोड ३ लाख, बागमतीवापत १७ करोड ८० लाख, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब २२ करोड ८० लाख, पूँजीगत लाभ करवापत १ अर्ब ३० करोड ५ लाख रुपैयाँ र अन्य विभिन्न विधा सो राजश्व संकलन गरेको हो ।

उपत्यकाबाट करिब साढे २ अर्ब राजश्व संकलन
देशभरको मालपोत कार्यालयबाट साढे ५ अर्ब राजश्व संकलन भएको अवस्थामा उपत्यकाका मालपोत कार्यालयबाट मात्रै करिब साढे २ अर्ब राजश्व संकलन गरेको छ ।

उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट २ अर्ब ३५ लाख रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

काठमाडौं उपत्यकामा घरजग्गा कारोबार कम भए पनि जग्गाको मूल्य महंगो हुँदा राजश्व बढी संकलन हुने विभागको भनाइ छ । जसमा उपत्यकाबाट मात्रै संकलन भएको राजश्वको करिब आधा हिस्सा उपत्यकाका रहेको विभागको तथ्याङ्कले देखाउँदछ ।

उपत्यकाका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट ५६ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, डिल्लीबजारबाट ४७ करोड २२ लाख, कलंकीबाट ३४ करोड ५६ लाख, भक्तपुरबाट ३४ करोड, चावहिलबाट ३१ करोड १० लाख, साँखुबाट १२ करोड, मनमैजुबाट ११ करोड २४ लाख र टोखाबाट ८ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।


क्लिकमान्डु