जोरपाटी-सुन्दरीजल सडकमा १ किलोमिटर कालोपत्रे गरियो



काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डमा पर्ने १ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रेको काम शुरु गरिएको योजनाले बताएको छ ।

जोरपाटी–सुन्दरीजल सडक खण्डमा पर्ने जोरपाटी पिपलबोट भेनस स्कुलसम्म रहेको १ किलोमिटर सडक कालोपत्रे गरिएकोे गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामप्रसाद आर्चायले बताए ।

अरु बाँकी रहेको सडक खण्डमा पनि धामाधाम ढलको पाइप हाल्नेदेखि विद्युत्का तारहरु भूमिगत गर्ने काम भइरहेको आर्चायले जानकारी दिए । यो काम सकिएपछि छिट्टै कालोपत्रे हुने पनि आर्चायले बताए ।

काठमाडौ सडक बिस्तार आयोजनाद्वारा निर्माण हुँदै गरेको सडक आयोजना समयमै निर्माण नहुँदा स्थानीयबासीले सास्ती ब्यहोर्नु परेको थियो ।

‘अब यस्तो सास्ती स्थानीयले धेरै समय खेप्नु पर्ने छैन,’ आर्चायले भने, ‘यो सडकको काम चैतसम्म सक्ने गरी काम तीव्रगतिमा भइरहेको छ ।’

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएको थियो । तर, पछिल्लो समय निर्माण कम्पनी, विद्युत् प्राधिकरण र स्थानीय वडा सरकारबीच समन्वय नहुनुका कारणले यस्तो भएको आर्चायको भनाइ छ ।

करिव ६९ करोड लागतमा निर्माण थालिएको सुन्दरीजल सडक निर्माणको काम ६ वर्षपछि सम्पन्न हुन लागेको हो । यो सडक बिस्तारको काम सम्पन्न भएपछि लाखौ मानिसहरुले लाभ लिने आर्चायको भनाइ छ ।


क्लिकमान्डु