२ वर्षमा मोबाइल आयात १३९%ले वृद्धि, ३ महिनामै बाहिरियो १७ अर्ब



काठमाडौं । अहिले बैंकिङ क्षेत्र लगानीयोग्य रकमको अभावले तरंगित छ । निक्षेप संकलन कम हुँदा बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन् ।
विज्ञहरुले तरलता अभाव हुनुको विभिन्न कारण औंल्याइरहेका छन् । त्यसमध्ये एक प्रमुख कारण हो उच्च आयात ।

नेपालमा तरकारीदेखि मुलुकमा उत्पादन नहुने वस्तुको आयात भइरहेको छ । त्यसमध्ये नेपालबाट मोबाइल हेन्डसेट आयातबाट अर्बौ रुपैयाँ बाहिरिरहेको छ ।

पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने नेपालमा विभिन्न मुलुकबाट १७ अर्ब १७ करोडभन्दा धेरै रुपैयाँको मोबाइल हेन्डसेट आयात भएको छ ।

उक्त मूल्यका २२ लाख ९ हजारभन्दा धेरै हेन्डसेट भित्रिएका छन् । नेपालले सबैभन्दा धेरै मोबाइल चीनबाट १० अर्ब १० करोड र भारतबाट ६ अर्ब ४७ करोड रुपैयाँको आयात गरेको छ ।

यसबाहेक अष्ट्रेलिया, बहराइन, क्यानडा, चिली, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, इन्डोनेसिया, इजरायल, जापान, केन्या, कोरिया कुवेत, लक्जेम्बर, मालावी, मेलेसिया, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्बेलगायतका ३६ देशबाट मोबाइल भित्रिरहेका छन् ।

मुलुकमा कोरोना संक्रमणले लकडाउनभएपछि ‘वर्क फ्रम होम’ र अनलाइन कक्षा सञ्चालन भएपछि मोबाइल आयात उच्च भएको छ ।

गत वर्ष २०७७/७८ को तुलनामा यो वर्ष मोबाइल आयात ५४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ११ अर्ब १० करोड रुपैयाँभन्दा धेरैको मोबाइल आयात भएको थियो ।

कोरोना संक्रमण बढेको पछिल्लो दुई वर्षमा यस्तो आयात अझ उच्च छ । भन्सार विभागको तथ्यांकअनुसार दुई वर्षमा मोबाइल हेन्डसेटको आयात १३८.८८ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा ७ अर्ब १९ करोड रुपैयाँको मोबाइल आयात भएको थियो ।


क्लिकमान्डु