निर्माण सामग्री खपत हुने मुख्य सिजनमै मूल्यवृद्धि



काठमाडौं । निर्माण सामग्रीको खपत हुने मुख्य सिजनमै निर्माण सामग्रीको अत्यधिक मूल्य बढेको छ ।

यतिबेला दशैं, तिहार र छठ जस्ता चाडपर्वको समय सकिएको छ । चाडपर्वका कारण धेरै थाँती राखेको काम अब बिस्तारै शुरु हुन थालेको छ ।
विशेषगरी जाडो मौसममा विकास निर्माण तथा घर निर्माण कार्य अत्यधिक हुने गर्दछ । तर, बजारमा भने आवश्यक निर्माण सामग्रीको मूल्य बढेको छ ।

कोरोना महामारीका कारण निर्माण कार्यमा निकै प्रभाव परेको अवस्थामा मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । हाल कोरोनाको संक्रमणको अवस्था नै रहेपनि अवस्था सामान्य हुँदै गएको देखिन्छ । तर, अवस्था सामान्य हुँदै गएपछि बजारमा भने सम्पूर्ण वस्तुको मूल्य अत्यधिक बढेको छ ।

निर्माण कार्यको मुख्य सिजन मानिने जाडो मौसममा बजारमा निर्माणका लागि आवश्यक इँट्टा, सिमेन्ट, डण्डीलगायतका वस्तुमा मूल्य वृद्धि भएको हो । जसले गर्दा प्रत्यक्ष असर आम उपभोक्ता र निर्माण व्यवसायीलाई परेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुख्य सिजनमै निर्माण सामग्रीको मूल्य बढ्दा आयोजना निकै प्रभावित भएको बताए । उनकाअनुसार हरेक वर्ष मुख्य सिजनमै मूल्यवृद्धि गर्ने प्रवृत्ति रहिआएको छ । यो वर्ष पनि बालुवा, इट्टा, डण्डी, सिमेन्टलगायत अन्य निर्माण सामग्रीमा मूल्य बढेको छ ।

त्यस्तै, घर निर्माणको लागि आवश्यक रङ, इट्टा, सिमेन्ट, बालुवा, डण्डीको मूल्य बढ्दा आम उपभोक्तालाई निकै मारमा परेको उनको भनाइ छ ।

कोइलाको अभावले निर्माण सामग्रीको मूल्य वृद्धि
हाल निर्माण सामग्रीको मूल्य वृद्धि हुनको मुख्य कारण कोइला रहेको छ । कोरोना महामरीका कारण विश्व बजारमा कोइलाको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ ।

नेपालले अधिकांश कच्चा पदार्थ र वस्तु आयात गर्ने हुँदा अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नेपाललाई पारेको हो ।
अन्र्राष्ट्रिय बजारमा कोइलाको अभाव हुँदा नेपालमा प्रत्यक्ष निर्माण सामग्री उद्योगीहरूलाई असर पारेको छ । निर्माण सामग्री सिमेन्ट, डण्डी तथा इँट्टा उत्पादनमा अत्यावश्यक कोइलाको अभाव हुँदा नेपालमा उक्त उद्योगीहरूलाई निकै प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ ।

नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले अन्र्राष्ट्रिय बजारका कोइलाको अभाव हुँदा नेपालमा निकै असर परेको बताए । उनकाअनुसार ईट्टा उत्पादनको मुख्य सिजनमै कोइलाको अभाव र मूल्य बढी पर्ने हुँदा ईट्टाको मूल्य बढ्ने भएको छ ।

गत कोरोना महामारीका कारण ईट्टाको खपत निकै कम र उत्पादनमा समेत ह्रास आएको थियो । यो वर्ष माग बढेको छ । तर, उत्पादनका लागि आवश्यक कोइला अभावसँगै चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता देखिएको छ । जसले गर्दा इँट्टाको मूल्य ७ रुपैयाँसम्म बढ्ने उनको अनुमान छ ।

‘हाल उद्योगीहरूले नयाँ कोइला ल्याएर उत्पादन गरेको दखिदैन । अबको केही दिनमा नयाँ कोइला आउँछ । उक्त कोइलाले इँट्टा उत्पादन गरेमा ७ देखि ८ रुपैयाँसम्म बढ्नेछ,’ उनले भने ।

उद्योग सञ्चालनको लागि उद्योगीहरूले प्रति टन १८ हजारसम्ममा कोइला नेपालमा खरिद गरी ल्याउथे भने अहिले अभाव भएसँगै मूल्य पनि दोब्बरले बढेको छ ।

विगतको दिनमाप्रति टन १६ देखि १८ हजारसम्ममा पाउने कोइला बढेर हाल प्रतिटन नै ३४ हजार पुगेको व्यवसायीहरूको भनाइ छ । जसले गर्दा यसको प्रत्यक्ष असर उत्पादन परेको उनीहरूको भनाइ छ ।

त्यसैगरी, नेपाल सिमेन्ट उद्योग संघका महासचिव केशव उप्रेतीले कोइलाको मूल्य बढ्दा सिमेन्ट उद्योगलाई निकै प्रभाव परेको बताए । संघले मंसिर १ गतेबाट सम्पूर्ण सिमेन्टको मूल्य बढाउने तयारी गरेको थियो ।

तर, उद्योगीहरूले स्टकमा भएको कोइलाले नै उत्पादन गरिरहेको पाइयो । तर, केही दिनमा नयाँ कोइला ल्याई उत्पादन गर्ने तयारी गरेका छन् । उक्त नयाँ कोइलाले उत्पादन गरेको सिमेन्टको प्रतिबोरा नै ६० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढ्ने उनको भनाइ छ ।

‘आगामी दिनमा ढिलो चाँडो भए पनि पीपीसी सिमेन्टको प्रतिबोरा १ सयभन्दा माथि र ओपीसीको ९० रुपैयाँसम्म बढ्नेछ,’ उनले क्लिकमाण्डूसँग भने ।

अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य समायोजन गर्दै आएको डण्डी उद्योगीहरूले पनि कोइलाका कारण मूल्य बढेको बताएका छन् ।

उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव र मूल्य दोब्बरले बढ्दा उत्पादन लागत बढ्न गई मूल्य बढेको बताएका छन् ।

बजारमा उपलब्ध पञ्चकन्या स्टील, लक्ष्मी स्टील, हामा स्टील, अम्बे स्टील र जगदम्बा स्टीललगायत अन्य सम्पूर्ण डण्डीको मूल्य प्रतिकेजी १० रुपैयाँसम्म बढाएको छ । उक्त कम्पनीहरूले दशैंलगत्तै मूल्य बढाएको थियो । साथै, तिहारपश्चात पनि मूल्य बढाएको कम्पनीहरूले जनाएको छ ।

तिहारअघिसम्म प्रतिकेजी १०४ रुपैयाँदेखि १०६ रुपैयाँसम्म मूल्य कायम भएको पञ्चकन्या स्टिलको मूल्य अहिले मूल्य बढाएर प्रतिकेजी ११४ रुपैयाँदेखि ११७ रुपैयाँसम्म मूल्य कायम गरेको छ ।

पञ्चकन्याका कम्पनीका मार्केटिङ रस्मिता सैजुले कोइलाका कारण डण्डीको मूल्य बढी रहेको बताइन् ।

त्यस्तै, हाल रङरोगनको मूल्य पनि बढेको छ । नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्वप्रकाश शाखले कोरोनाले गर्दा कच्चा पदार्थको मूल्य बढ्दा रङको मूल्य बढेको बताए ।

‘कोरोनाले सप्लाई चेन नमिल्दा रङलाई आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ । जसले गर्दा अहिले अधिकांश रङ्मा १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ,’ उनले भने ।

साथै, अन्य निर्माण सामग्री बालुवा, गिट्टीमा पनि डिजेलको मूल्य बढ्दा ढुवानीको लागत बढेको छ । सोहीअनुसार बालुवा र गिट्टीमा पनि मूल्य बढाएको निर्माण व्यवसायी संघका अध्यक्ष सिंह बताउँछन् ।


क्लिकमान्डु