६ वर्षपछि जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुँदै, कात्तिकमै सकिने



काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डको सडक कालोपत्रे गर्न लागिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रे हुन लागेको हो ।

जोरपाटी सुन्दरीजल सडक यही कात्तिक २७/२८ गते कालोपत्रे गर्न लागिएको गोकर्णेश्वर नगरपालिकाले जानकारी दिएको छ ।

कालोपत्रे गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताएका छन् ।

काठमाडौ सडक बिस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुँदा स्थानीयबासीले सास्ती बेहोर्नु परेको प्रमुख आचार्यको भनाइ छ ।

६ वर्षसम्म सडक काम नलाग्ने गरी तहसनहस भएको थियो । पानी परे हिलाम्मे घाम लागे धुलाम्मे हुने गरेको देखिन्छ ।

यो सडकको कारणले स्थानीयको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको स्थानीयले बताउँदै आएका छन् ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएपनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत् प्राधिकरण र स्थानीय वडा सरकारबीच समन्वय नहुनुका कारणले यस्तो भएको स्थानीयहरुको भनाइ छ ।

मुआब्जा विवादनै मुख्य समस्या थियो
आयोजनाले २२ मिटरको सडक बिस्तार गर्न थालेपछि स्थानीयले मुआब्जा र क्षतिपुर्तीको माग गदै आन्दोलन गरि सर्वोच्चमा मुद्दा हालेका थिए । त्यसपछि सर्वोच्चले स्थानीयलाई क्षतिपुर्ती नदिएर आयोजना अगाडि नबढाउन आदेश गरेको थियो ।

सोही बमोजिम काम गर्न समय लागेको आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

‘गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक २२ मिटर नगरी १४ मिटरमा बिस्तार गर्ने र स्थानीयका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम शुरु गरेको थियो,’ अधिकारीले भने ।

निर्माण कम्पनीले वर्षा, कोरोनाका कारण उपत्यकामा लागेको निषेधाज्ञा अनेक कारण देखाउदै हालसम्म पनि काम पूरा गर्न सकेको थिएन । अहिले भने त्यो सबै समस्याहरु हटेका कारण कात्तिक महिनाभित्रै सडक कालोपत्रे हुने आयोजनाले बताएको छ ।

करिब ६९ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन नसक्दा सडक हिलाम्मे भएर पैदल यात्रु तथा सवारी साधनलाई कष्टकर हुने गरेको देखिन्छ ।

ठेक्का पाएको निर्माण कम्पनी आशीष सीएम जेभीका अनुसार विविध लफडाका कारण ६ वर्षमा जम्मा आफूहरुले एकवर्ष मात्रै काम गर्न पाएको बताएको छ ।

वर्षातको कारणले कालोपत्रे नगरिएको हो । अहिले पानी रोकिएको र म्याद पनि सकिने समय भएकाले कात्तिकमै कालोपत्रे गर्न लागिएको निर्माण कम्पनीले बताएको छ ।


क्लिकमान्डु