१३३ कम्पनीले लिए इन्टरनेट बेच्ने अनुमति, यसै वर्ष थपिए ६ वटा



काठमाडौं । मुलुकमा इन्टरनेट बिस्तार बढ्दै जाँदा इन्टरनेट सेवा प्रदायकको संख्या पनि उल्लेख्य वृद्धि भएको छ ।

नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने भनेर अनुमति लिने कम्पनीको संख्या १ सय ३३ पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट असोज महिनासम्म अनुमति लिने इन्टरनेट सेवा प्रदायकको संख्या १ सय ३३ पुगेको हो ।

पछिल्लो ६ महिनामा मात्र ६ कम्पनीले अनुमतिपत्र लिएका छन् । वैशाखदेखि यता अनुमति लिने इन्टरनेट सेवा प्रदायकहरुमा खप्तड नेट, स्विफ्ट नेट एण्ड कम्युनिकेसन, डीजी लिंक नेटवर्क, युनिट नेटवर्कस्, इनोभेसन कम्युनिकेसन सिस्टम र आइटेल नेटवर्क रहेका छन् ।
१ सय ३३ वटाले इन्टरनेट सेवा दिन भनेर अनुमतिपत्र लिएको भए पनि अहिलेसम्म ४४ वटा सञ्चालनमा आएका छन् ।

कोरोना भाइरस संक्रमण फैलिएसँगै अनलाइनमा आधारित काम, अनलाइन कक्षा सञ्चालन बढ्यो । यसले गर्दा इन्टरनेटको मागमा वृद्धि भएसँगै नयाँ कम्पनी थपिने क्रम पनि बढेको छ ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले ग्रामीण क्षेत्रमा पनि इन्टरनेट बिस्तार भइरहेकाले नयाँ ग्राहक थपिनेक्रम बढेको बताए । नयाँ ग्राहक थपिने क्रम बढेपनि बजारमा तीव्र प्रतिस्पर्धा रहेको उनको भनाइ छ ।

‘इन्टरनेट चलाउन ग्राहकको संख्या वृद्धि भए पनि प्रतिस्पर्धा चर्को छ,’ पराजुलीले भने, ‘नयाँ कम्पनी थपिने क्रम बढेकाले व्यवसायमा मार्जिक धेरै कम हुदै गएको छ ।’ कतिपय ठाउँमा अस्वस्थ प्रतिस्पर्धा बढेको व्यवसायीहरु बताउँछन् । कम्पनीहरु गुणस्तर सेवा दिनभन्दा पनि नयाँ ग्राहक थप्नमा होडबाजी गरिरहेको कतिपय व्यवसायीको भनाइ छ ।

प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) रिपोर्टअनुसार हाल संचालनमा रहेका ४४ इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो एक वर्षको अवधिमा ५ लाख ८ हजार ४ सय ११ ग्राहक थपेका छन् । इन्टरनेट सेवा प्रदायकका कुल ग्राहक संख्याभन्दा १७ लाख ४२ हजारभन्दा धेरै पुगिसकेका छन् ।


क्लिकमान्डु