एनआइसी एशिया बैंकलाई यसरी ‘रेस्क्यू’ गरे विकास बैंकले



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार एनआईसी एशिया बैंक १० वटा सूचकमा पहिलो बनेको छ ।

निक्षेप, कर्जा, वासलातको आकार, सञ्चालन नाफा, खुद नाफा, स्वपूँजीमा प्रतिफल, शाखा कार्यालय र एटिएम संख्याको आधारमा एनआइसी पहिलो स्थानमा आएको हो ।

निक्षेप, कर्जा तथा शाखा र एटिएम संख्याको आधारमा एनआइसी एशिया पछिल्ला वर्षहरुमा पहिलो स्थानमा छ । निक्षेप र कर्जा तथा शाखाको आधारमा पहिलो स्थानमा भएपनि एनआईसी एशिया नाफामा भने पहिलो स्थानमा थिएन । यो पटक पहिलो त्रैमासको वित्तीय विवरणमा एनआईसी एशिया बैंक पहिलो स्थानमा आएको हो ।

तर, पछिल्लो साता भने एनआईसी एशिया बैंकलाई सीडी रेसियो ९० प्रतिशत तल झार्नका लागि विकास बैंकले जोगाइदिएका छन् । एनआइसी एशिया बैंकले विदेशी मुद्रामा नक्कली निक्षेप राखेको थियो । राष्ट्र बैंकले विदेशी मुद्रामा हुने निक्षेपलाई सीडी रेसियोमा गणना गर्न नपाइने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको नीतिले असजिलोमा पर्ने बैंकलाई सो बराबरको फण्ड व्यवस्थापनका लागि विकास बैंकलाई गुहारेको थियो । एनआइसी एशिया बैैंकका बरिष्ठ कर्मचारीहरु कपिलमणि ढकाल र अर्जुन खनियालगायत विकास बैंकका सीइओलाई भेटेर निक्षेप लिनका लागि आग्रह गर्दै हिँडेका थिए ।

‘एनआइसी एशियाका उच्च अधिकारीहरुले रोइकराई गरेपछि हामी विकास बैंकका साथीहरु मिलेर रेस्क्यू गरिदियौं,’ एक विकास बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘एकै दिन हामीले १० अर्ब रुपैयाँ बराबरको निक्षेप दिएर एनआइसीलाई ठूलो संकटबाट बचायौं ।’

वाणिज्य बैंकमा विकास बैंक तथा फाइनान्स कम्पनीले निक्षेप राख्न पाउने व्यवस्था छ । सो निक्षेप सीडी रेसियोमा गणना गर्न पाइने व्यवस्था छ । विकास बैंकहरुले १० अर्ब निक्षेप राखेपछि एनआईसी एशियाले सीडी रेसियो ८५ प्रतिशतमा राख्न सफल भयो । होइन भने ९२÷९३ प्रतिशत सीडी रेसियो हुन्थ्यो । र, राष्ट्र बैंकको कारबाहीमा पर्थ्यो ।

राष्ट्रियस्तरका ठूला विकास बैंकहरु कसैले २ अर्ब, कसैले १ अर्ब ६० करोड तथा कसैले १ अर्ब ७५ करोड तथा कसैले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप एनआईसी एशियामा राखेका थिए ।

एनआइसी एशियाको तरलता संकट टार्नका लागि पैसा दिएका विकास बैंकहरु एनआइसीले कात्तिक १ देखि लागू हुने गरेर बढाएको ब्याजदरपछि भने रिसले चुर भएका थिए ।

एनआइसी एशिया बैंकले कात्तिक १ देखि लागू हुने गरेर ११.१० प्रतिशत ब्याजदरमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर पुर्याएको थियो । राष्ट्र बैंकले कात्तिक २ गते राती निर्देशन जारी गर्दै बढेको ब्याजदर फिर्ता लिन भनेको थियो ।

एनआइसी एशिया बैंकले ब्याजदर बढाएको समयमा विकास बैंकबाट समेत निक्षेप तानेको थियो । एनआइसीलाई असोज मसान्तमा सहयोग गरेका विकास बैंकहरु आफ्नोमा भएको मुद्दती र बचतको निक्षेप तानेको भन्दै रिसाएका थिए ।

केही विकास बैंकका सीइओहरुले असजिलो हुँदा सहयोग गरेपनि एनआईसी एशियाले ब्याजदर बढाएर आफ्नै निक्षेप खोसेको भन्दै फिर्ता गर्नुपर्ने समेत धारणा राखेका थिए । यद्यपी राष्ट्र बैंकले ब्याजदर युद्धमा ब्रेक लगाएपछि विकास बैंकहरुले एनआइसी एशियामा राखेको निक्षेप फिर्ता गर्नु भने परेन ।

‘एनआइसीमा संकट देखा पर्यो भने समग्र वित्तीय प्रणालीमै संकट आउने र त्यसले विकास बैंकहरुलाई समेत समस्यामा पार्ने विश्लेषण गरेर एनआइसीको यो पटकको संकट हामीले टारिदिएका हौं,’ अर्का एक सीइओले भने ।

तर, बैंकका सूचना अधिकारी अर्जुन खनियाँ भने यो स्वाभाविक प्रक्रिया भएको दाबी गरे ।

‘बैंकिङमा यो समान्य कुरा हो, एनआइसीलाई त्यस्तो कुनै समस्या परेको छैन,’ खनियाँले भने, ‘एकले अर्कालाई सहयोग गरिरहेकै हुन्छौं ।’


क्लिकमान्डु