कुमारी बैंकका सीइओको तलब २ करोड ३८ लाख



काठमाडौं । कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई एक वर्षमा २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक दिएको छ ।

उक्त तलब बैंकका तत्कालीन सिइओ सुरेन्द्र भण्डारी लिएका हुन् ।

भण्डारी अहिले बैंकबाट विदा भएका छन् । उनले साउन १ गतेदेखि लागू हुनेगरी असार ३१ गते नै बैंकबाट अवकाश लिएका हुन् ।

अहिले बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनुजमणि तिमिल्सिनालाई दिएको छ । बैंकले अहिलेसम्म सिइओ नियुक्त गर्न सकेको छैन । बैंक साढे तीन महिनादेखि सिइओबिहीन बनेको छ ।

बैंकले एक वर्षमा सिइओलाई तलब भत्ताबापत २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक पाएकोमा तलब १ करोड २० लाख ३७ हजार ४२३ रुपैयाँ, भत्ता ४७ लाख ७० हजार ३२५ रुपैयाँ, दशैं भत्ता १४ लाख ६६ हजार ९६ रुपैयाँ विदा (वार्षिक र संचित) बापत १० लाख ३ हजार ११९ रुपैयाँ र अन्यमा ४२ लाख ३९ हजार ५ रुपैयाँ उपलब्ध गराएको छ ।

बैंकका अनुसार अन्य व्यवस्थापकले १० करोड ४४ लाख ८६ हजार ८४९ रुपैयाँ तलब भत्ता लिएका छन् । बैंकको बार्षिक साधारणसभा आज (मंगलबार) सकिएको छ ।

बैकले सभाबाट ८.७६ प्रतिशत लाभांश पारित गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गरेको हो । 


क्लिकमान्डु