उत्साह रहेन धनतेरसको बजार, लकडाउनको असर सुनचाँदी बजारमा



आज धनतेरस । अलिकति भए पनि सुनचाँदी किन्नुपर्छ भन्ने दिन । यो दिन बजारमा सुन र चाँदी किन्नेको भिड हुन्छ । अन्य दिनभन्दा यसदिन सुन र चाँदीको कारोबारमा उल्लेख्य वृद्धि हुन्छ ।

यसपाली भने धनतेरसको दिनमा पहिलोको जस्तो उत्साह नभएको व्यवसायीहरु बताउँछन् । मुलुकमा लकडाउनभन्दा अघिको वर्षसँग तुलना गर्दा यसपाली धनतेरसको दिन सुनचाँदीको व्यापार २५ प्रतिशतले घटेको व्यसायीहरुको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले लकडाउन अघिको तुलनामा ७५ प्रतिशतमात्र सुनचाँदीको व्यापार भएको बताए ।

‘आज धनतेरसको दिन भए पनि व्यवसायमा खासै उत्साह देखिएन,’ शाक्यले भने, ‘लकडाउन अघिको तुलनामा ७५ प्रतिशतमात्र व्यापार भएको छ ।’

कोरोना संक्रमणका कारण २०७६ चैत ११ देखि मुलुकमा पहिलो पटक लकडाउन शुरु भएको थियो । त्यसयता पटकपटक लकडाउन भएका छन् । त्यसअघिको व्यवसायसँग तुलना गर्दा २५ प्रतिशतले कारोबार घटेको उनको भनाइ छ ।

लकडाउन शुरु हुनुभन्दा अघि दशैंलगत्तै सुनचाँदीको व्यापार बढ्दै जान्थ्यो । यसपाली त्यस्तो उत्साहन देखिएन । दशैंपछि सुनचाँदीको कारोबार सुनसान जस्तै भएको उनले बताए ।

‘धनतेरस, लक्ष्मी पूजाका लागि भनेर हुने व्यापार आजकै दिन मात्र भयो,’ शाक्यले भने, ‘क्रयशक्ति कम भएकाले सुन किन्नेले चाँदी किने, चाँदीको ५० तोला बनाउनेले २५ तोला बनाए ।’

शाक्यको अनुमानमा आज उपत्यकामा २ हजारदेखि २५ सय किलो चाँदीको व्यापार भएको छ ।

सनु भने बजारमा अभाव छ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन बजारमा उपलब्ध गराउँछ । त्यसले बजारको माग धान्न नसकेको शाक्यले बताए ।

धनतेरसको बजारलाई हेर्दा पनि त्यही अनुमान गर्न सकिने उनको भनाइ छ । २० किलोको कारोबार भए पनि त्यसभन्दा बढी उपलब्ध नभएको उनको भनाइ छ ।

‘गरगहना किन्न बाहेक काँचो सुन बेच्न सक्ने अवस्था छैन,’ शाक्यले भने, ‘बजारमा ठूलो अभाव छ ।’


क्लिकमान्डु