कुमारी बैंकको २१औं साधारणसभा सम्पन्न, साढे ८% लाभांश पारित



काठमाडौं । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा काठमाण्डौंमा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ को आषार मसान्तसम्म बैंकले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड प्रवाह गरी खुद नाफा १ अर्ब ९७ करोड कमाएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत् देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु