तिहारमा ढुक्क भएर बिजुली बाल्नुस्, चाहिए जति उपलब्ध हुन्छः कुलमान



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारमा ढुक्क भएर बिजुलीको खपत गर्न उपभोक्तालाई आग्रह गरेको छ । बिजुलीको माग अत्याधिक मात्रामा नबढेको तथा प्रणालीमा यथेष्ट मात्रामा उपलब्ध भएकाले कुनै चिन्ता नगर्न भनेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ‘भदौको अन्तिम साताको एक दिनमात्रै प्रणालीमा १ हजार ६२० मेगावाट बराबरको माग आएको थियो । त्यसपछि माग हेर्दा न्यूनतम नै देखिन्छ । त्यसकारण ढुक्क भएर बिजुली खपत गर्दा हुन्छ ।’

उनले विगतका वर्षहरुमा दिपावलीको समयमा के होला भन्ने चिन्ता उपभोक्तालाई जस्तै प्राधिकरणलाई पनि हुने गरेको भएपनि यसपटक अवस्था त्यस्तो नरहेको उनले बताए ।

प्रणालीमा २ हजार मेगावाटभन्दा बढी बिजुली उपलब्ध रहेको तथ्यांक दिँदै उनले दिपावलीमा उद्योग प्रतिष्ठान समेत केही दिन बन्द हुने भएकाले माग अनुसारको बिजुली उपलब्ध गराउन कुनै पनि समस्या नरहेको उल्लेख गरे ।

‘केही मानिसले दिपावलीमा लोडसेडिङ हुन्छ भनेर हल्ला गरेको पनि सुनेँ, त्यसमा कुनै सत्यता छैन,’ घिसिङले भने, ‘तपाईंले के कति उपकरण चलाउन सक्नुहुन्छ चलाउनुस् । हामीलाई कुनै चिन्ता छैन । चिन्ता लिनुपर्ने कारण पनि छैन ।’

उनले यस वर्ष प्रणालीमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी, सञ्चालनमा आएको भन्दै साँझको समयमा पूर्णक्षमतामा चल्ने समेत जानकारी दिए । कुलेखानीको जलाशय भरिएर ओभर फ्लो भएको भन्दै उनले बढी माग भए त्यसलाई पनि चलाउन सकिने बताए ।

निजी क्षेत्रका अन्य आयोजनाको बिजुली समेत थपिएकाले कुनै पनि समस्या नहुने र जटिलता उत्पन्न नहुने उनले बताए ।

विद्युत् खरिद सम्झौता (पीपीए) रोक्ने पक्षमा आफूहरु नरहेको बताए । आज रोकेर ५/७ वर्षपछि आउने समस्यालाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै नदी प्रवाही आयोजनाको हकमा केही कडा नीति लिएको भएपनि अर्धजलाशयुक्त आयोजनाको हकमा पीपीए हुने जानकारी दिए ।


क्लिकमान्डु