पर्व लक्षित महानगरको अनुगमन : ११ वटालाई साढे ४ लाख जरिवाना




काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने अनुगमनका क्रममा ६१ वटा व्यापारिक प्रतिष्ठान हेरिएका छन् । यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई ४ लाख ६० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

जसमध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा राजस्व जम्मा भएको छ । महानगरले आफ्नै निरीक्षण अधिकृत तोक्नु अघि गरिएको जरिवाना वाणिज्यको खातामा र त्यसपछिको जरिवाना महानगरको आफ्नै राजस्व खातामा जम्मा भएको हो ।


बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको अनुगमन समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।

उपप्रमुख खड्गी श्रेष्ठले, अहिलेसम्म गरिएका अनुगमनका सिकाइ र उपलब्धीलाई संस्थागत गर्दै उत्पादनलाई बजारसँग जोड्ने प्रणालीका चक्रमा पहुँच बढाउने संयन्त्र विकास गरिने बताइन् । ‘हरेक पटक एउटै समस्यामा अल्झिनु हुँदैन’ उनले भनिन् ‘एक पटक प्रयास गर्दा त्यस क्षेत्रमा सुधार भएको उपभोक्ताले अनुभूति हुने प्रणाली विकास गरौँ । पर्वमा देखिएको सक्रियतालाई बर्षभरि नै निरन्तरता दिऔँ ।’

अनुगमनका क्रममा देखिएको समस्याका विषयमा जानकारी दिँदै निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले, खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा बस्तुको गुणस्तरमा सबैभन्दा समस्या रहेको उल्लेख गरे । उपभोक्ताहरुको ध्यान तयार भइसकेका खानेकुरा हुने र उपभोक्ताले कच्चा पदार्थमा पहुँच नराख्ने भएकोले भान्छाको व्यवहार हेर्नुपर्ने उनको भनाई छ ।

अनुगमनबाट प्राप्त तथ्य विश्लेषणबाट आगामी कार्यक्रम निर्धारण गर्नुपर्ने उनको भनाई छ । यसका लागि कानुनी प्रबन्धको अध्ययन, सूचना संकलन र अवस्थाको पहिचान प्रतिवेदन निर्माणका क्रममा रहेको जानकारी गराए ।


क्लिकमान्डु