शुरु हुँदैछ १२औं जनगणना, गणकले तपाईंलाई सोध्नेछन् यस्ता प्रश्न



काठमाडौं । सरकारले यही मंसिरदेखि १२औं जनगणना शुरु गर्दैछ । प्रत्येक १० वर्षमा गरिने जनगणना गत असारमा हुने भनिए पनि कोरोना महामारीका कारण तत्कालीन समयमा हुन सकेको थिएन । र, अब कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना हुने भएको छ ।

यसपटकको जनगणनाको नारा ‘मेरो जनगणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ राखिएको छ ।

यसका लागि सरकारकाले २९ हजार गणक र ८ हजार सुपरिवेक्षकलाई करारमा नियुक्त गरिसकेको छ । र, गणकहरुलाई अहिले धमाधम तालिम पनि दिइराखिएको छ । कात्तिक २५ गतेदेखि गणकहरुले उक्त अवधिमा प्रत्येक घर–घरमा पुगेर विभिन्न प्रश्नावलीका आधारमा सूचना संकलन गर्नेछन् ।

यसपटकको जनगणनामा केही स्थानमा जनगणनाका लागि प्रविधिको प्रयोग गरिनेछ । जसमा केही स्थानीय तहमा गणकहरुले सूचना संकलनका लागि ट्याबको प्रयोग गर्नेछन् । जसमा ट्याबमा भएको केन्द्रीय तथ्यांक विभागको एपमार्फत् उनीहरुले सूचना संकलन गर्नेछन् ।

यी प्रश्न सोधिनेछन्
प्रश्नावलीलाई तीन खण्डमा विभाजन गरिएको छ । जसमा परिचयात्मक खण्ड, पारिवारिक खण्ड र व्यक्तिगत खण्ड राखिएको छ ।

परिचयात्मक खण्डमा प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर र टोलका साथै घरमूलीको नाम र सम्पर्क टेलिफोन वा मोबाइल नम्बर सम्बन्धी प्रश्न सोधिनेछन् ।

दोस्रो खण्डमा रहेको पारिवारिक खण्ड अन्तर्गत तपाईं बस्ने घर कस्को स्वामित्वमा छ ? घरको जग केले बनेको छ ? घरको बाहिरी गारो केले बनेको छ ? घरको छाना केले बनेको छ ? घरको भुँई कस्तो छ ? घरमा प्रयोग हुने खानेपानीको मुख्य स्रोत के हो ? खाना पकाउन कुन इन्धनको प्रयोग गर्नुहुन्छ ? बत्ति बाल्न कुन इन्धनको प्रयोग गर्नुहुन्छ ? परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ? घरायसी सुविधा तथा साधनहरु के के छन् ?

परिवारमा महिलाका नाममा घर जग्गा छ कि छैन ? परिवारका सदस्यहरु कृषि बाहेक अन्य कुन कुन पेशामा आबद्ध छन् ? पछिल्लो १२ महिनामा परिवारका कसैको मृत्यु भएको छ वा छैन ? मृत्यु भएकाहरुको विवरण, कुनै कामका लागि विदेश गएका व्यक्तिहरुको विविरणलगायतका प्रश्नहरु समावेश गरिएको छ ।

त्यसैगरी, व्यक्तिगत खण्ड अन्तर्गत परिवारमा निरन्तर बसोबास गरिरहने सबैको विवरण, घरमूलीसँगको नाता, लिंग, जन्ममिति, जात जाति, पुर्खाको भाषा, मातृभाष, दोस्रो भाषा, धर्म, देशका विषयमा प्रश्नहरु सोधिनेछन् । त्यसैगरी परिवारमा बस्ने सबैको शैक्षिक विवरण, जन्मस्थान, बसाइसरी आएको स्थान, विदेशमा गएकाहरुको विवरण, प्रजनन सम्बन्धी विवरण, जीवित जन्मेर मृत्यु भएका बच्चाहरुको विवरण, परिवारका सदस्यहरु कोसँग बसेका छन् ? अपांगता सम्बन्धी विवरण, १२ महिनायता कुनै प्रकारको आम्दानी हुने वा नहुने आर्थिक काम गरेको वा नगरेको विवरण, काम गर्ने स्थानबाट मुख्यरुपमा के उत्पादन हुन्छ, काम गर्ने संस्थागत क्षेत्र कस्तो हो ? लगायतका सम्पूर्ण विवरणहरु समावेश गरिनेछ ।


क्लिकमान्डु