एलन मस्कको डब्ल्यूएफपीलाई चेतावनीः खर्चको विवरण देखाऊ, ६ अर्ब डलर सहयोग गर्छु



काठमाडौं । विश्वका धनीहरुको सूचीमा शीर्ष स्थानमा रहेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सरकारहरुको पनि सरकारको रुपमा रहेको संयुक्त राष्ट्र संघको एक एजेन्सीलाई चेतावनीसहित सहयोग गर्न सक्ने बताएका छन् ।

मस्कले संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)लाई विश्वको भोकमरी हटाउने ठोस योजना र खर्चको कार्यक्रम ल्याएको खण्डमा ६ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउन सक्ने घोषणा गरेका छन् ।

उनले ६ अर्ब डलर बराबरको सेयर बिक्री गरेर सहयोगका लागि आफू तयार रहेको बताउँदै खर्चको योजना र जरुरी रहेको बताए ।

उनले आफनो कम्पनीको सेयर बिक्री गरेर सहयोग गर्न तयार रहेको भएपनि स्पष्ट कार्ययोजना जरुरी रहेको बताएका हुन् ।

‘विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी)ले पैसा कसरी खर्च हुन्छ भन्ने बारेमा स्पष्ट खाका देखाउन सके टेस्लाको सेयर बिक्री गरेर भए पनि सहयोग गर्छु,’ उनले भने ।

मस्कको सो भनाई डब्ल्यूएफपीका निर्देशक डेभिड बीएस्लेले हालै सिएनएनसँगको अन्तरवार्ताको क्रममा दिएको अभिव्यक्तिको प्रत्युत्तरमा आएको हो ।

बीएस्लेले विश्वका ४ करोड २० लाख मानिसको भोकमरी मेटाउनका लागि ६ अर्ब अमेरिकी डलर आवश्यक रहेको बताएका थिए । उनले सहयोग ती मानिसमा पुर्याउन नसके उनीहरु समस्यामा पर्ने र भोकमरीका कारण अकालमा ज्यान गुमाउनुपर्ने बताएका थिए ।

त्यतिमात्रै नभई उनले एलन मस्क र जेफ बेजोस जस्ता अर्बपतिहरुले भोकमरीको समस्या समाधानका लागि कदम चाल्नुपर्ने बताएका थिए ।

ब्लूमवर्गलगायतका सञ्चारमाध्यमहरुका अनुसार भोकमरीको समस्या समाधनका लागि मस्कको सम्पत्तिको झिनो मात्रा मात्रै आवश्यक पर्छ । उनको सोमबार उनको सम्पत्ति १९२.६ बिलियन डलर रहेको छ ।

५० वर्षीय मस्कले खर्चका सन्दर्भमा पारदर्शिताको प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सिएनएनको स्क्रिनसट सेयर गर्दै भनेका छन् – डब्ल्यूएफपीले आफनो पैसा कसरी खर्च गर्छ भन्ने बारेमा बताउन सक्यो भने मैले टेस्लाको ६ अर्ब डलर बराबरको सेयर बिक्री गरेर भए पनि सहयोग गर्ने बताएका थिए ।

उनले सबै खर्चको विवरण आम मानिसले थाहा हुने गरी सार्वजनिक हुनुपर्ने माग समेत गरेका छन् । उनले सन् २०२० मा डब्ल्यूएफपीले ८ अर्ब ४० करोड डलर बराबरको पैसा उठाएपनि भोकमरीको समस्या किन समाधान हुन सकेन भनेर प्रश्न समेत गरेका छन् ।

मस्कको उक्त घोषणलाई केहीले प्रशंसा गरेका छन् ।

उनले संयुक्त राष्ट्र संघको निकायमा हुने गरेको अपारदर्शिताको विषयलाई समेत उजागर गरिदिएको भन्दै धन्यवाद दिएका छन् । संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सी रहेपनि विश्व खाद्य कार्यक्रमको भने बेलाबेलामा आलोचना हुने गरेको छ ।


क्लिकमान्डु