यसपालीको तिहार महंगीको चपेटामा, अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि



काठमाडौं । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको तिहार निकै महंगिने भएको छ । कोरोना भाइरस महामारीका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा छन् ।

दशैंको समयमा पनि आवश्यक सम्पूर्ण सामग्रीको मूल्यवृद्धि भएको थियो । जसमा दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्राको मूल्य अत्याधिक बढेर नेपालीहरूको दशैं महंगिन पुगेको थियो ।

त्यस्तै, तिहारलाई अत्यावश्यक अधिकांश वस्तुको मू्ल्य बढ्दा तिहार पनि महंगिने भएको छ । तिहारमा सबैभन्दा बढी खपत हुने वस्तु हो झिलीमिली झालर । साथै, तिहारमा वस्तु ड्राई फ्रुट्स तथा फूलमालाको अत्याधिक बिक्री हुने गर्दछ । उक्त अत्याधिक खपत हुने अधिकांश वस्तुको मूल्यवृद्धि भएको छ । जसले गर्दा यो वर्षको उपभोक्ताहरूको तिहार महंगिने भएको छ ।

झिलीमिली झालरको मूल्य ३५ प्रतिशतसम्म बढ्यो

सबैभन्दा बढीखपत हुने झिलीमिली झालरमा ३५ प्रतिशतसम्म मूल्य बढेको नेपाल विद्युतिय व्यवसायी महासंघले जनाएको छ । कोरोना कारण अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको अभाव हुँदा उत्पादनमा ह्रास आई मूल्य वृद्धि भएको महासंघको भनाइ छ ।

नेपालले अधिकांश वस्तुहरू तेस्रो मुलुकबाट आयात गर्ने भएकाले अन्र्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि सोही अनुसार मूल्य बढेको महासंघका महासचिव कोमल पोखरेल बताउँछन् । उनकाअनुसार यो वर्ष बजारमा झालरको अभावसँगै मूल्य बढ्दा यो वर्षको तिहार अत्याधिक महंगिने भएको छ ।

तिहारलाई आवश्यक पर्ने केही ड्राई फ्रुटको मूल्य नबढे पनि केही ड्राई फ्रुटमा भने मूल्य बढेको छ । सुपारी, छोकडालगायतका अत्यावश्यक वस्तुमा सहज आयात हुन नसक्दा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ ।

त्यस्तै, फ्लोलिकल्चर एशोसिएसनका अनुसार फूलमालाको मूल्य भने नबढ्ने जनाएको छ । तर, आम उपभोक्ताले भने चर्को मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

खाद्यान्नको मूल्यवृद्धि कायमै

त्यसैगरी, अधिकांश खाद्यान्नको मूल्यवृद्धि कायमै रहेको छ । दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, मैदालगायत खाद्यान्नको अत्याधिक मूल्य बढेको छ । नेपाल खुद्रा किराना व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले खाद्यान्नको मूल्यवृद्धि हुँदा उपभोक्ता महंगिको चपेटामा रहेको बताए ।

‘उपभोक्ताले उपभोग गर्ने सम्पूर्णको मूल्य वृद्धि भएको छ । साथै, तिहारमा अत्यावश्यक वस्तुको मूल्यवृद्धिले सबैको तिहार महंगिएको छ,’ उनले भने ।

त्यस्तै, दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्ने कायमै रहेको छ । आलु, गोलभेडा, काउली, सागलगायत अन्य विभिन्न प्रकारका तरकारीको मूल्य बढेको छ । जसले गर्दा उपभोक्ता मारमा परेका छन् ।

ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँसम्म मूल्य बढ्यो

नेपाल आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँले बढाइएको छ । साथै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले बढाइएको छ ।

जसमा निगमकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, हवाई इन्धनको मूल्य ९६ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १५०० रुपैयाँ कायम गरेको छ ।

त्यससँगै, बागमति प्रदेशगलेगत कार्तिक १ गतेबाट यातायात बढाएको छ । जसले गर्दा उपभोक्ता झन मारमा परेका छन् । अहिले कुनै पनि यात्रु चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था छ । तर, सवारी चालकहरूले चट्ने वित्तिकै २० रुपैयाँ असुल गरिरहेका छन् ।


क्लिकमान्डु