२.७१ प्रतिशत स्प्रेडदरमा काम गर्दा कुमारी बैंकको नाफा घट्यो



काठमाडौं । ब्याज आम्दानी घट्दा कुमारी बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ३ महिनाको वित्तीय विवरण अनुसार कुमारी बैंकले ३ महिनामा ५४ करोड नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा ६० करोड थियो ।

ब्याज आम्दानीबाट बैंकले ३ महिनामा १ अर्ब २८ करोड कमाएको छ । जुन अघिल्लो वर्ष १ अर्ब ३१ करोड थियो । बैंकको कमिसन तथा ट्रेडिङ आम्दानी भने बढेको छ ।

असोज मसान्तसम्म कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रहेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५२ अर्ब कर्जा दिएको छ ।

बैंकको इपीएस १५.६० रुपैयाँ छ । अघिल्लो त्रैमासमा सेयरधनीलाई उपलब्ध रकम रहेको हुँदा बैंकको नाफा ५४ करोड भएपनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा पहिलो त्रैमासमा १ अर्ब १० करोड रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको इपीएस १५.६० रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ९२.१३ प्रतिशत छ । बेसरेट ७.८८ प्रतिशत छ भने स्प्रेड २.७१ प्रतिशत छ ।अघिल्लो वर्ष स्प्रेडदर ४.३६ प्रतिशत थियो ।


क्लिकमान्डु