३ महिनामा सिद्धार्थ बैंकले ९४ करोड नाफा कमायो



काठमाडौं । सिद्धार्थ बैंकले ३ महिनामा ९४ करोड नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफा ८८ प्रतिशतले बढेको हो ।

सिद्धार्थ बैंकले अघिल्लो वर्षको ३ महिनामा ५० करोड नाफा गरेको थियो ।

बैंकले ३ महिनामा ब्याज आम्दानीबाट मात्र १ अर्ब ७५ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट १ अर्ब ३४ करोड कमाएको थियो । बैंकको कमिसन तथा अन्य सञ्चालन आम्दानी समेत बढेको छ ।

पहिलो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड थियो । बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

असोज मसान्तसम्ममा बैंकमा १ खर्ब ८३ अर्ब निक्षेप छ भने कर्जा १ खर्ब ७३ अर्ब कर्जा दिएको छ । १३.०५ प्रतिशत पूँजीकोष अनुपात रहेको सिद्धार्थ बैंकको खराब कर्जा अघिल्लो वर्षभन्दा घटेको छ ।

अघिल्लो वर्ष १.३२ प्रतिशत रहेको एनपीएल यो वर्ष ०.५४ प्रतिशत छ । असोज मसान्तसम्म कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८७.७५ प्रतिशत छ । ३.४७ प्रतिशत स्प्रेडदर रहेको बैंकको असोज मसान्तमा बेसरेट ७.५७ प्रतिशत छ ।

बैंकको आरओई १८.०२ प्रतिशत छ । पहिलो त्रैमासको नाफाबाट बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २९ करोड गरेको छ । इपीएस ३३.६१ रुपैयाँ छ ।


क्लिकमान्डु